
कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी योजना निर्माण गरिदिएका छन् । भीमदत्त नगरपालिका– ८, तिलाचौरका युवा दीपक देउवाले गाउँमै रहेको सिद्धनाथ मन्दिरमा खानेपानीकोे योजना बनाएका हुन् ।
देउवा हाल भारतको बेंग्लाेरमा व्यवसाय गर्दै आएका छन् । आफू परदेशमा बस्दै आए पनि उनले मातृभूमिका लागि केही सामाजिक काम गर्दै आएका हुन् ।
सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष गोरखबहादुर पुजाराले समाजसेवी देउवाको निजी लगानीमा निर्माण भएको खानेपानी सञ्चालनमा आएको बताए । उनका अनुसार १० हजार लिटर खानेपानीको ट्यांकी निर्माण गरिएको छ । सँगै डिपट्युबेलमार्फत खानेपानी वितरण गरिएको छ । तीन लाख, २५ हजार ५०३ रुपैयाँ लगानीमा देउवाले खानेपानीको योजना बनाइदिएका हुन् ।
अध्यक्ष पुजाराले सिद्धनाथ मन्दिरमा खानेपानीको अभाव हुँदा समाजसेवी देउवासँग आग्रह गरेअनुरूप जडान गरिदिएको बताए । झन्डै डेढ बिगाह क्षेत्रफलमा रहेको मन्दिरमा माता, जोगी, पुजारी बस्दै आएका छन् । ‘मन्दिरमा बस्ने र यात्रुका लागि छुट्टाछुट्टै धारा जडान गरिएका छन्,’ उनले भने, ‘अब मन्दिरभित्र र छरछिमेकलाई सहज हुनेछ ।’
समाजसेवी डा. कृष्णदत्त जोशी (बोक्सर)ले समाजसेवी देउवाले समाजको हितका लागि गर्दै आएको काम सराहनीय रहेको बताए । बोक्सरले सरकारको मुख तोक्नुभन्दा दीपक देउवाजस्ता समाजसेवीको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।
गाउँमा रहेको मन्दिरमा खानेपानीको ट्यांकी निर्माण गरिदिएपछि मन्दिरका पुजारादेखि स्थानीयले सुविधा भएको बताएका छन् । मन्दिरका पुजारा रघुनाथ जोशीले खानेपानी जडानसँगै मन्दिरमा सहज भएको बताए । तिलाचौरका स्थानीय युवा बलराम एसकेले मन्दिरमा खानेपानी जडानअघि पनि समाजसेवी देउवाले विपन्नको घर निर्माण, न्याना लुगा वितरणदेखिका सामाजिक काम गर्दैै आएको बताए ।
शुक्रबार उक्त योजनाको एक कार्यक्रमबिच उद्घाटन गर्दै समाजसेवी दीपक देउवाले आफ्नो जन्मभूमिप्रतिको कर्तव्य भएको बताएका छन् । भीमदत्त नगरपालिका– ८ का वडाध्यक्ष मदन मिश्रले समाजसेवी दीपक देउवाले समाजको हितका गर्दै आएको कामकाज सराहनीय भएको बताए । देउवाले समाजिक क्षेत्रमा अतुलनीय काम गरेको भन्दै मन्दिर समितिले अभिनन्दन गरेको छ । देउवालाई दोसल्ला ओढाएर सम्मान गर्दै आगामी दिनमा समेत सामाजिक कार्य गर्न अपेक्षा राखेका छन् ।