
काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिकामध्ये ११ पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ। बेथानचोक र चौरीदेउराली गाउँपालिकाबाहेकका पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएका हुन्।
यी दुई पालिकामा पनि घोषणा गरेर जिल्लालाई नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने तयारीमा जुटेको जिल्ला खोप समन्वय समितिले जनाएको छ। मंगलबार जिल्ला खोप समन्वय संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम भएको हो।
रोशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले विकासको पहिलो आधार भनेको स्वास्थ्य रहेको र स्वस्थ रहनका लागि पूर्ण खोप लगाउनुपर्ने बताए। पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरे।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले विगतमा बालबालिकाको मृत्यु दर र अहिलेको मृत्यु दरमा धेरै फरक रहेको बताउँदै त्यसो हुनुमा पूर्णखोपकै प्रभाव रहेको बताए। पूर्णखोप सुनिश्चितता घोषणा गर्नुभन्दा दिगोपना दिन महत्त्वपूर्ण रहेको बताउँदै त्यसका लागि प्रतिबद्ध हुन सबै सरोकारवालाहरूलाई अनुरोध गरे।
सो कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम तय गर्दै आएको र आगामी दिनमा पनि प्राथमिकता दिँदै जाने बताए। रोशीका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ६० वर्ष नाघेका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको उनको भनाइ छ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप निरीक्षक पार्थमणि न्यौपानेले स्वस्थ नागरिक बनाउनका लागि पूर्णखोप सुनिश्चित हुनुपर्ने बताए।