
अन्ततः लामो अडकलबाजीबिच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अल्बर्टामा आयोजना हुने आगामी जी–७ शिखर सम्मेलनमा भाग लिनका लागि समूहका सदस्य नभए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेका छन् । तर, यस निर्णय अहिले विवादमा परेको छ । जसका कारण कार्नीले मोदीलाई दिएको आमन्त्रण गर्ने निर्णयको पटक–पटक प्रतिरक्षा गर्नु परेको छ । सन् २०२३ मा क्यानडामा एकजना सिख अभियन्ताको हत्यामा भारत सरकारको ‘उच्च तहको’ संलग्नता रहेको क्यानडाको संघीय प्रहरीले निष्कर्ष निकालेको परिपेक्ष्यमा कार्नीको निमन्त्रणाको चौतर्फी विरोध भएको हो ।
शुक्रबार पत्रकार भेटघाटमा प्रधानमन्त्री कार्नीलाई हरदीपसिंह निज्जरको हत्यामा भारतका प्रधानमन्त्रीकै भूमिका रहे–नरहेको विषयमा प्रश्न सोधिएको थियो । तर, प्रधानमन्त्री कार्नीले पत्रकारहरूको यस प्रश्नको जवाफ दिन अस्वीकार गरे । बरु उनले घुमारुरो रूपमा जवाफ दिएर भारतीय समकक्षीको बारेमा उल्लेख नै गरेनन् । ‘अहिले कानुनी अनुसन्धान चलिरहेको छ र यो धेरै अगाडि पुगिसकेको छ । यस्तो अवस्थामा उक्त कानुनी प्रक्रियाबारेमा टिप्पणी गर्नु उपयुक्त हुँदैन,’ कानीले पत्रकारहरूलाई जवाफ दिँदै भने । निज्जर हत्यामा संलग्न भएको आरोपमा क्यानडामा बसोवास गर्दै आएका चार भारतीय नागरिकमाथि मुद्दा चलेको छ ।
विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका देशका नेताहरूको उपस्थिति हुने जी–७ शिखर सम्मेलन जुन १५ देखि १७ बिच अल्बर्टाको कानानास्किसमा आयोजना हुँदै छ । कार्नीले भारत ‘विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश र आपूर्ति शृंखलाको केन्द्रबिन्दु’ भएकाले सो देशका नेतालाई निमन्त्रणा दिनु महत्वपूर्ण हुने तर्क गरेका छन् । उनले भारतीय समकक्षीसँगको भेटमा ऊर्जा, एआई र व्यापार, अत्यावश्यक खनिजहरूबारेमा छलफल हुनेसमेत जानकारी दिए । ‘यसैकारण, मैले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिएँ र उनले पनि हाम्रो निमन्त्रणा स्वीकार गरेका छन्,’ सो अवसरमा कार्नीले भने ।
मोदीले यसअघि नै कार्नीबाट फोन आउँदा आफू खुसी भएको र उनलाई हालैको चुनावी विजयमा बधाई दिएको बताएका थिए । ‘जनता–जनताबिच गहिरो सम्बन्धले बाँधिएको जीवन्त लोकतान्त्रिक देशका रूपमा भारत र क्यानडाले पारस्परिक सम्मान र साझा हितद्वारा निर्देशित भएर नयाँ जोशका साथ मिलेर काम गर्नेछन् । सम्मेलनमा हामीबिच हुने भेटवार्ताका लागि उत्साहित छु,’ मोदीले कार्नीसँगको फोन संवादपछि एक विज्ञप्तिमा भनेका थिए । गत वर्ष ब्रिटिस कोलम्बिया राज्यको सर्रे सहरमा भारतीय मूलका निज्जरको हत्यापछि दुई देशको सम्बन्ध निकै चिसिएको थियो । तनावबिच दुई देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेका थिए, जसका कारण कूटनीतिक दरार उत्पन्न भएको थियो । क्यानडाको कानुन प्रवर्तन गर्ने निकायले भारत जबर्जस्ती चन्दा असुली, आपराधिक गिरोह हिंसा र धम्की दिने कार्यमा संलग्न रहेको आरोप पनि लगायो ।
मोदीलाई आमन्त्रित गर्ने कार्नीको निर्णयले वल्र्ड सिख अर्गनाइजेसनले आक्रोशित प्रतिक्रिया दिएको छ । ‘यो क्यानडाका सिखहरूका समुदायमाथिको विश्वासघात हो । अझ यो हाम्रो समुदायमाथिको मात्र नभई मूल क्यानडाली मूल्य–मान्यतामाथिकै विश्वासघात हो । भारतले हरदीप सिंह निज्जरको हत्यामा कुनै पनि भूमिकालाई अस्वीकार गरिरहेको छ । उसले अनुसन्धानमा क्यानडाली अधिकारीहरूलाई सघाउन अस्वीकार गरिरह्यो । यस्तोमा प्रधानमन्त्री कार्नीको नरेन्द्र मोदीलाई आमन्त्रित गर्ने निर्णय लज्जास्पद र खतरनाक दुवै छ,’ संगठनका अध्यक्ष दानिस सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रुस, चीन वा इरानबाट यस्तो काम भएको भए हामीले ती देशका नेताहरूलाई कहिल्यै स्वागत गर्ने थिएनौँ । जबकि भारतले बाह्य हस्तक्षेप र हत्या गर्नेजस्तो अन्तरदेशीय दमन गरेको छ । तर, उसैलाई रातो कार्पेटमा स्वागत गरेर पुरस्कृत गरिँदै छ ।’
भारतीय प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने कार्नीको निर्णय उनी नेतृत्वको नयाँ सरकारले क्यानडासँग सम्बन्ध तिक्त रहेका देशहरूसँग तनाव कम गर्ने प्रयास गरिरहेको वेला आएको हो । बिहीबार नै उनले चिनियाँ प्रधानमन्त्री ली छियाङसँगको फोन संवादको पूर्णपाठ पोस्ट गरे । त्यसमा दुई देशबिच जारी व्यापार विवादका बिच ‘सञ्चारका च्यानलहरू नियमित राख्न’ दुवै पक्षको चासो रहेको बताइएको छ । चीन र क्यानडाबिच समुद्री खाना, विद्युतीय सवारीसाधन, क्यानोला, सुँघुर र मटरमा कर युद्ध चलिरहेको छ । यसले दुवै देशलाई अर्बौँको क्षति पुर्याएको छ । मार्चमा प्रधानमन्त्री बनेपछि कार्नी र उनका चिनियाँ समकक्षीसँगको यो पहिलो उच्चस्तरीय फोन संवाद हो ।
उता कार्नी छिमेकी अमेरिकासँग पनि घनीभूत वार्तामा छन् । डोनाल्ड ट्रम्पको सरकारले अहिले क्यानेडेली स्टिल र आल्मुनियमको अमेरिका प्रवेशमा भारी भन्सार कर लगाएको छ । यो व्यापार युद्ध अन्त्य गर्न कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्तामा पनि छन् । ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले पत्रकारहरूसँगको कुराकानीमा वार्ताको पुष्टि गरे । फोर्डका अनुसार क्यानेडेली प्रधानमन्त्री कार्नी ट्रम्पको टोलीसँग ‘गहन र गम्भीर छलफल’मा सरिक छन् । यसलाई क्यानडाका उद्योग मन्त्रीले समेत उचित बताए ।
– द गार्जियनबाट