
लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका– २, बुढीमोरङका २५ वर्षीय सागर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
जेठ १० गते शनिबार साँगुरीगढी गाउँपालिका– २, सेलेलिङस्थित मोरङको सीमावर्ती क्षेत्रबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्र १–०२–००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक लिम्बूले प्रहरी जवान सञ्जयकुमार थारूलाई धकेलेर जंगलतर्फ फरार भएका थिए। उनले धकेलेपछि लड्दा प्रहरी जवान थारू घाइते भएका थिए।
लिम्बू फरार भएसँगै निरन्तरको खोजतलासपछि आइतबार साँझ धनकुटाको छथर जोरपाटी गाउँपालिका– १, चिसापानीबाट को.२०प १८९८ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।
धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई छलेर लिम्बू भागेका थिए।
लिम्बूलाई पक्राउ गरेसँगै उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ तथा मुलुकी संहिताको दफा ६६ अन्तर्गत राष्ट्रसेवकलाई बाधाविरोध गर्न नहुनेविरुद्धको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाई अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ।