
म काठमाडौंको बौद्धमा जन्मिएँ, हुर्किएँ । बुबा घरैमा थाङ्का बुन्नुहुन्थ्यो । गुम्बामा बुबालाई थाङ्काको रङ लगाउन बोलाइन्थ्यो । म काठमाडौंको भानुभक्त स्कुलमा पढ्थेँ । तर, पढाइमा मेरो ध्यान जाँदैनथ्यो । पढाइमा खासै चासो नदेखाएपछि बुबालाई चिन्ता लाग्थ्यो । उहाँले मलाई नपढ्ने भए हातमा सीप हुनुपर्छ भन्नुहुन्थ्यो । यही भएर थाङ्का कोर्न सिकाउनुभयो । दिउँसो स्कुल जान्थेँ । बिहान–बेलुका बुबासँग थाङ्का सिक्थेँ ।
त्यतिवेला मेरो स्कुलका साथीहरू डाक्टर, इन्जिनियर, पाइलट बन्ने कुरा गर्थे । तर, आफू भने घरैमा थाङ्का लेख्न सिकिरहेको छु भन्न लाज लाग्थ्यो । थाङ्का लेख्नुलाई सामान्य पेसाका रूपमा लिइन्थ्यो । यो पनि विशिष्ठ कला हो भनेर हेरिन्नथ्यो । थाङ्कालाई विदेशी पर्यटकलाई बेच्ने सामानको रूपमा मात्रै हेरिन्थ्यो । गलैँचा बुन्ने र थाङ्का एउटै समूहमा पर्थे । यसको मूल्यै थिएन । थाङ्का एउटा पराम्परागत काम मात्रै हो भन्ने बुझिन्थ्यो । मेरो बुझाइ पनि त्यस्तै थियो । थाङ्का पेन्टिङलाई पेसा बनाउनेबारे सोच नै आएन । यद्यपि, पढाइसँगसँगै पाँच वर्षमा थाङ्का लेख्न सिकेँ । बौद्धका गुम्बामा गएर थाङ्काबारे थप बुझेँ । यति गर्दा पनि थाङ्काप्रति आकर्षण भएन । थाङ्का कलाकार बन्ने उत्साह नै जागेन । बुबालाई कहिलेकाहीँ काममा सघाउने मात्रै गर्थे । त्यतिवेला म १४–१५ वर्षको थिएँ । गुम्बाका लागि बुबाले बनाएको थाङ्कामा रङ लगाउँथेँ । थाङ्का कलामै लागेर जीवन चलाउन सक्दिनँ होला जस्तो लाग्थ्यो ।
थाङ्का कलामा आधुनिकता
सन् १९९८ मा अमेरिका गएँ । त्यहाँका विभिन्न सहरमा रहेका ध्यान केन्द्र (बौद्ध धर्मालम्बीको) घुम्ने अवसर पाएँ । त्यसक्रममा केही मानिससँग भेटघाट पनि भयो । केही समयपछि क्यालिफोर्नियास्थित हिलिङ बुद्ध सेन्टरले थाङ्का लेख्न सिकाउनुपर्यो भनेर बोलायो । त्यहाँ ५०–६० वर्ष उमेर समूहका मान्छे ध्यान गर्न आउँथे । उनीहरूलाई थाङ्का लेख्न सिकाउनुपर्ने रहेछ । ध्यान गर्दा थाङ्काको ‘भ्युजोलाइज’ गर्नुपर्छ भन्ने मान्यता रहेछ । थाङ्का बुझ्यो भने ध्यान गर्न सजिलो हुन्छ भन्ने विश्वास छ । ध्यान केन्द्रमा मान्छे शान्ति र आनन्द खोज्न आउँदा रहेछन् । त्यहाँ मैले थाङ्का सिकाउन थालेपछि राम्रै आम्दानी भयो । विदेशी लेखकले लेखेको बुद्धिजमका पुस्तक पढ्ने अवसर पाएँ । नेपाल आफ्नै भाषा थाङ्का सिकेको हुँदा अंग्रेजीमा बुझ्न निकै कठिन हुन्थ्यो । विदेशीले लेखेका पुस्तक पढेपछि निकै सहज भयो ।
मैले त्यो गुम्बामा दुइटा थाङ्का सिकाएँ । त्यहाँ आफ्ना पेन्टिङ पनि प्रदर्शनी गरेँ । मेरा थाङ्का चित्रले निकै राम्रो प्रतिक्रिया पाएँ । मेरो कला देखेर अमेरिकाको ‘ज्याम्बा जुस’ले पोस्टर पेन्टिङ गर्न बोलायो । त्यो कम्पनीलाई थाङ्का शैलीमा पोस्टर बनाउनुपर्ने रहेछ । यो त मेरा लागि ठुलो अवसर थियो । मैले बनाएका पोस्टर त्यो कम्पनीले मार्केटिङ पनि गर्यो । धेरैले मन पनि पराए । आर्थिक हिसाबले पनि निकै राम्रो भयो । त्यो पोस्टर थाङ्का आर्टको स्टाइल पेन्टिङ थियो । जुस कम्पनीको पोस्टर बनाएपछि थाङ्का आस्था मात्रै होइन, आर्ट पनि रहेछ भन्ने बुझेँ । थाङ्काप्रति मेरो बुझाइको घेरा तोडियो । कलाचेतको दायरा पनि फराकिलो भयो ।
आर्ट भनेको खुला हुनुपर्छ, सबैले बुझ्न सक्नुपर्छ भन्ने सोच विकास भयो । थाङ्कालाई संसारभर फिँजाउन मन लाग्यो । यसपछि थाङ्का स्टाइललाई मोर्डन तरिकाले बुझनुपर्ने रहेछ भन्ने लाग्यो । थाङ्का आस्था मात्रै होइनरहेछ, यसलाई आर्टको रूपमा विकास गर्न सकिने रहेछ भन्ने लाग्यो । त्यसपछि थाङ्कालाई मोर्डन आर्टमा ढालेर पेन्टिङ गर्न थालेँ । सन् २००९ मा न्युयोर्क रुबिन म्युजियममा आर्ट प्रदर्शनी गरेँ । त्यतिवेला १० जनाको चित्रकला प्रदर्शनीमा राखिएको थियो । मैले हिमाली संस्कृतिलाई लिएर पेन्टिङ गरेको थिएँ । प्रदर्शनीपछि अमेरिकाका ठुला आर्ट म्युजियमले मेरो कामबारे थाहा पाएछन् । त्यसपछि ती म्युजियमले बोलाउन थाले । विदेशी आर्ट ग्यालरी र म्युजियमसँग सहकार्य गर्न थालेँ ।
सन् २०१२ मा लन्डनको रसी एन्ड रसी आर्ट ग्यालरीमा सोलो आर्ट प्रदर्शनी गरेँ । पछि यही आर्ट ग्यालरीसँग काम पनि गर्न थालेँ । यही क्रममा अस्ट्रेलिया, हङकङ, जर्मनी, सिंगापुरलगायत देशका आर्ट ग्यालरीमा प्रदर्शन गरेँ । विदेशका ग्यालरीसँग सहकार्य पनि गर्न थालेँ ।
मलाई सबैले कतिपटक हिमाल चढ्यो भनेर सोध्थे । तर, मैले शेर्पा हिमाल मात्रै चढ्दैनन्, उनीहरूमा अन्य क्षमता पनि हुन्छ भनेर सुनाउँथे । शेर्पाहरूसँग हिमाल चढ्ने मात्रै क्षमता हुँदैन, अरू क्षमता पनि हुन्छ भन्ने प्रमाणित गर्नु थियो । हिमाल चढ्नु नराम्रो होइन, तर शेर्पासँग हिमाल आरोहणबाहेक अरू काम गर्न सक्दैनन् भन्ने बुझाइ छ ।
विदेशीहरू नेपाल भन्नेबित्तिकै सगरमाथा/हिमाल मात्रै भनेर चिन्छन् । उनीहरूको यस्तो सोचाइलाई परिवर्तन गर्दै हामीसँग पर्याप्त कला–सांस्कृतिक धरोहर पनि छन् भनेर देखाउन मन लाग्थ्यो । नेवारी पौवा र थाङ्काबारे अझै राम्रोसँग बुझाउन सकेका छैनौँ । विदेशीहरूले नेपाल आएर थाङ्काबारे पुस्तक लेखेका छन् । उनीहरूले लेखेको पुस्तक पढेर हाम्रा कला, संस्कृतिबारे जान्नुपर्ने अवस्था छ । नेपाली परम्परा र संस्कृति बोकेका थाङ्काबारे नेपालीमा अझै पर्याप्त पुस्तक छैनन् । वर्षांैसम्म थाङ्का बुनेर म आफैँले पनि त्यसको महत्व बुझेको रहेनछु । अमेरिका गएपछि मात्रै थाहा पाएँ, थाङ्का त हाम्रो सांस्कृतिक पहिचान पो रहेछ ।
काठे कलालाई अझै चिनेका छैनौँ
पाटन म्युजियम, भक्तपुर म्युजियममा सजिएका काठे कला पनि हाम्रा महत्वपूर्ण पहिचान हुन् । यसलाई ‘ओपन आर्ट म्युजिम’को रूपमा विकास गर्न सकिन्छ । यसलाई गहिरिएर हेर्दा कति सुन्दर देखिन्छ । हाम्रो कला संस्कृतिबारे हामी आफैँले बुझेका छैनौँ । त्यसलाई प्रवर्द्धन गर्न सकेनौँ । कलालाई प्रवर्द्धन गर्न सकेका छैनौँ ।
थाङ्का नेपाली संस्कृति भएर पनि यसलाई हामीले चिन्न सकेका छैनौँ । विदेशीले यसबाट धेरै फाइदा उठाइरहेका छन् । यसको महत्व बुझेका छन् । ४०–५० वर्षअघि नै नेपाल आएका विदेशी पर्यटकले यसबारे अध्ययन गरे । हाम्रो बुझाइ भने थाङ्का पर्यटकका लागि बनाएको सामग्री हो भन्ने थियो । भ्रमणमा आएका पर्यटकले नेपालको कोसेली भन्दै भटाभट थाङ्का लगिरहेका थिए । थाङ्काको राम्रो किनबेच हुन थालेपछि हामी व्यापारका रूपमा हेर्न थाल्यौँ । जसले थाङ्काको कला पक्षको महत्व घट्यो । यहाँ त थाङ्का बुद्ध धर्मावलम्बीले पूजा गर्ने वस्तुको रूपमा मात्रै प्रयोग हुन्थ्यो ।
थाङ्कालाई तिब्बती बौद्ध परम्परामा आधारित एक महत्वपूर्ण धार्मिक चित्रकलाका रुपमा पनि लिइन्छ । थाङ्का साँस्कृतिक र ऐतिहासिक दृष्टिले पनि महत्व राख्दछ । यसले हिमाली समुदायको धार्मिक विश्वास, परम्परा र जीवनशैलीलाई अभिव्यक्त गर्छ । नेपालका शेर्पा, तामाङलगायत बौद्धधर्मालम्बीहरू थाङ्का परम्परामा जोडिँदै आएका छन् । यसले नेपालको हस्तकला तथा पारम्परिक चित्रकलाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । विदेशमा थाङ्कालाई कलात्मक र आध्यमिक रुपमा लिइन्छ । थाङ्का मात्रै नभएर अन्य नेपाली कलाका सांस्कृतिलाई अन्तर्रााष्ट्रिय तहसम्म प्रचार–प्रसार गर्नु फलदायी हुन्छ । हाम्रो कला संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न सक्यो भने कला फस्टाउन सक्छ । थाङ्का कला धार्मिक चित्रण नभई सांस्कृतिक सम्पदा, ऐतिहासिक दस्तावेज र आध्यात्मिक अभ्यासको माध्यम पनि हो । यसले गहिरो दर्शन बोकेको छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो दायित्व पनि हो ।
बुबाबाट सिकेको कलाको गहनता
बुबाको मामाहरूले थाङ्का गर्नुहुन्थ्यो रे । नेपालको हिमाली क्षेत्रमा विवाह गर्ने र विवाह नगर्ने दुई प्रकारका लामाहरू हुन्छन् । एकप्रकारका लामा पढेर विवाह गर्ने र गुम्बामा पूजापाठ गर्ने हुन्छन् । अर्काे थरी लामा पढेर विवाह नगरी हिमाली लामाको कपडा लगाएर बस्ने हुन्छन् । विवाह गरी लामा काम गर्नेलाई निङ्मा भनिन्छ । उसले गुम्बामा पुजारीको काम पनि गर्न पाउँछ । मेरो बुबाका मामाहरू यस्तै निमाङमा हुनुहुन्थ्यो रे । मामाहरूबाट बुबाले पनि गुम्बाले थाङ्का कोर्न सिक्नुभएछ । बुबा काठमाडौं आएर पनि लामाबाट बौद्ध धर्मबाट सिक्नु भएछ । त्यसपछि थाङ्का कलाप्रति बुबाको लगाव बढ्दै गएछ । बुबाले मलाई थाङ्का कलाबारे बुझाउनुहुन्थ्यो । उहाँ दिनभरि गुम्बामा काम गर्नुहुन्थ्यो । रातिराति घरमा अभ्यास गर्नुहुन्थ्यो । आजका दिनसम्म पनि थाङ्का निरन्तर अभ्यास गरिरनुभएको छ । ८३ वर्ष पुग्नुभयो र पनि अझै थाङ्का आर्ट गर्नुहुन्छ । उहाँ थाङ्कामा देउता बनाउनुहुन्छ । उहाँले पूजापाठको किताब पढेर थाङ्का लेख्नुहुन्छ । बुबा अरूले बनाएको थाङ्का हेरेर कहिल्यै बनाउनुहुन्न । थाङ्का आफैँ अध्ययन गरेर लेख्नुहुन्छ । उहाँ बुद्धको स्वरूप कस्तो हुनुपर्छ भन्ने थाहा भए मात्रै आर्टमा दर्साउन सकिन्छ भन्नुहुन्छ । बुबाले वर्षाैँदेखि निरन्तर थाङ्का कोरिरहनु भएको छ । तर, ती थाङ्का प्रदर्शनीमा कहिल्यै राख्नु भएन । र, थाङ्कालाई प्रदर्शनी राखिदैन पनि भन्नुहुन्छ । तर, केही समयअघि बुबाले बनाएको थाङ्काको चित्र प्रदर्शनी गर्यौँ ।
जुन परम्परा लोप हुन नदिलाई गरेको हो, पेसा पुस्तान्तरण गर्नुपर्छ भनेर गराएको हो । ८३ वर्षको उमेरमा पहिलोपटक प्रदर्शन गर्नुभयो । प्रदर्शनीमा एक वर्ष लगाएर बनाएका थाङ्का राखिएका थिए । उहाँ सधैँजसो पूजापाठ र ध्यान समय बिताउनुहुन्छ । उहाँ आफ्नै काममा मग्न हुनुहुन्छ । मेरै आग्रहमा केही समयअघि उहाँको थाङ्का प्रदर्शनी भएको हो ।
कसरी बनाइन्छ ?
म आर्ट कलेज स्कुलमा कहिल्यै गइनँ । जे जति सिकँे, सबै बुबाबाट सिकेँ । उहाँबाट सिकेका परम्परागत आर्ट टेक्निकलाई मोडर्न आर्टमा परिणत गरेँ । यो नै युनिक भएछ । यस्तो सोच निरन्तरको अभ्यासले मात्रै आउने रहेछ । नेपालमा आर्ट कलेज पनि सीमित छन् । विदेशमा यस्ता कलेज धेरै हुन्छन् । मैले स्वाध्यायनबाटै कलामा गहनता र आध्यात्मिक दृष्टिकोण बुझेँ । थाङ्का लेख्दा क्यानभासमा कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण हुन्छ । थाङ्कामा बौद्ध धर्मका हरेक देउता आ–आफ्नै ग्राफ हुन्छन् । लेख्नलाई देउताका सबै चित्र सम्झन सक्नुपर्छ । थाङ्का क्यानभासमा कसरी तयार गर्ने ? यो महत्वपूर्ण हुन्छ । त्यसमा लेख्नुपर्छ । ग्राफलाई याद गर्नुपर्छ । चित्र कण्ठ हुनुपर्छ । त्यसका आधारमा सिक्न कम्तीमा पाँच वर्ष लाग्छ । क्यानभास बनाउने र पेन्टिङ सिक्नलाई अझै समय लाग्छ । रङ कसरी मिश्रण गर्ने ? डिटेलमा कसरी रङ खेलाउने ? यस्ता कुरामा ख्याल गर्नुपर्छ । लाइन कसरी बनाउने ? भगवान्को गहना कसरी बनाउने भन्ने गम्भीर काम हो । यो निरन्तरको अभ्यासले जान्ने कुरा हो । त्यसैले बेसिक थाङ्का पेन्टिङ्का लागि कम्तीमा पाँच वर्ष अभ्यास गर्नुपर्छ । अनि मात्रै क्यानभास निर्माण गर्ने, ड्रोबिङ गर्ने, रङको मिश्रण गर्ने, लाइन राख्ने, देउताको गहनाजस्ता कुरा सिकिन्छ । थाङ्का पेन्टिङ गर्नु आफैँमा सजिलो काम होइन । यो आफैँमा ध्यान पनि हो । मैले पनि बौद्ध धर्मबारे बुझ्नलाई धेरैपटक गुम्बाका लामा गुरुहरूसँग सिकेको छु । यसका लागि कुनै किसिमको मानसिक तथा शारीरिक दबाब हुनुहुँदैन । यसले एकाग्रता बढाउने, मन शुद्ध पार्ने र आध्यात्मिक रूपमा शान्तिका लागि सहयोग पुग्ने विश्वास पनि गरिन्छ ।
थाङ्का के हो ?
हिमाली क्षेत्रमा थाङ्कालाई गुम्बा, घरको पूजाकोठामा राखी पूजा गर्न, ध्यान, अभ्यास गर्न, मृतकको नाममा चढाउनेजस्ता कार्यमा प्रयोग गरिन्छ । विषेश गरी गुम्बामा लामाहरूले चढाउने र पूजापाठ पनि गर्ने चलन छ । गुम्बामा थाङ्का बौद्ध धर्मका देवता, दृश्य वा मण्डला कोरिएका हुन्छन् । थाङ्का चित्रहरू दृश्यको रूपमा बौद्ध आध्यात्मिकको लक्ष्य पनि भनिन्छ ।
थाङ्का कलाको आध्यात्मिक महत्व पनि छ । थाङ्का चित्र नेपालकको मैलिकतासँग समेत जोडिएको छ । यो कुनै समयमा धार्मिक प्रयोजनका लागि लेखिन्थ्यो । अहिले व्यावसायिक रूपमा पेसागत रूपमा तयार गर्न थालिएको छ । थाङ्का प्राचीन सभ्यता, परम्परा र दर्शनलाई बोकेको कला हो । कुनै समयमा बौद्ध अध्येता लामागुरुहरूबाट मात्र थाङ्का लेख्ने गरिन्थे । कलामार्फत विभिन्न बौद्ध देवीदेवताका आकृति प्रतीकात्मक रूपमा कपडामा उतार्ने काम गरिन्छ । चित्रमा बौद्ध धर्मका देवताको आकृतिदेखि मण्डलाका विभिन्न स्वरूप बनाइन्छ ।