१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २४ शनिबार १o:५१:oo
Read Time : > 3 मिनेट
साहित्य प्रिन्ट संस्करण

युवा नेता तथा दलित अभियन्ता प्रदीप परियारलाई मन परेका पुस्तक 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १o:५१:oo

बुबा हुलाक सेवामा हुनुहुन्थ्यो । जुन वेला हाम्रो गाउँमा बिजुली, सडक र टेलिभिजन थिएन । त्यतिवेला ‘नव युवा’, ‘युवामञ्च’, ‘मधुपर्क’जस्ता पत्रिका ढिलोचाँडो घरमा आउँथ्यो । मेरो पढ्ने बानीको जग यस्तै पत्रिकाले बसाए । मलाई इतिहास, समाज, राजनीति र बुद्धिजमबारे लेखिएका पुस्तक पढ्न मन पर्छ । लामो समय युवासँग काम गरेको हुँदा मैले नेतृत्व विकास गर्ने पुस्तक पनि पढेँ । नेतृत्व किन असफल वा सफल हुन्छ ? यो गम्भीर प्रश्नको उत्तर खोज्न पनि पढिरहेको हुन्छु ।

‘कर्नाली ब्लुज’ : ‘कर्नाली ब्लुज’मा बा र छोराको सम्बन्धको निकै मिहीन, गहन, भावुक तर यथार्थपरक चित्रण गरिएको छ । लेखक बुद्धिसागरले आफ्नै बाल्यकालका स्मृतिबाट कर्णाली क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक यथार्थसँगै एउटै घरभित्र दुई पुस्ताबिचको संवाद, टकराव र समझदारीको झझल्को दिने कथा बुनेका छन् । कर्णाली ब्लुजमा कुँदिएका बाको संघर्ष, मौन माया र छोरासँग गरेको अपेक्षाले मेरो मन छोएको हो । बा परिवारका लागि निःस्वार्थ रूपमा कठोर परिश्रम गर्छन् । बाको मौनता, सादगी र समर्पणसँग गाँसिएको गहिरो भावनात्मक सम्बन्ध बिस्तारै खुल्दै जान्छ । यसमा सबैभन्दा हृदयस्पर्शी पक्ष हो, बाबुछोराको कहानी र उनीहरूको जीवन्त सम्बन्ध । जुन संवादभन्दा पनि दैनिक जीवनका साझा अनुभव, पीडा र परिश्रमबाट निर्माण हुन्छ । पुस्तकका कतिपय खण्डमा यो सम्बन्ध यति जीवन्त लाग्छ कि पाठकलाई आफ्नै बुबासँगको सम्बन्ध सम्झाउँछ । विशेषतः ती बाहरू, जसले धेरै दिन्छन्, थोरै मात्र बोल्छन् । उपन्यासको ‘बा’ पात्रसँग म जति आत्मीय बन्दै जान्छु, मेरा आँखा उति रसाउँदै जान्छन् । कहिलेकाहीँ त यस्तो लाग्छ कि म बृखबहादुरका बासँग होइन, आफ्नै दिवंगत बासँग साक्षात्कार गरिरहेको छु ।

कास्ट म्याटर्स : स्लम वा झोपरपट्टीमा जन्मे–हुर्केका डा. सुरज येंगडेबाट म एकदमै प्रभावित छु । मूलतः पुस्तकले भारतको जात व्यवस्था र त्यसको गहिरो प्रभावलाई विश्लेषण गर्छ । लेखकले आफ्नो व्यक्तिगत अनुभव र अनुसन्धानबाट जातीय विभाजनले दलितलाई कसरी सामाजिक, आर्थिक र मानसिक रूपमा पीडित बनाएको छ भन्ने प्रस्ट्याएका छन् । येंगडेले दलित जागरण, दलित नेताहरूको असफलता र सामाजिक न्यायका लागि आवश्यक रणनीतिबारे स्पष्ट विचार प्रस्तुत गरेका छन् । उनी जात व्यवस्था अन्त्यका लागि केवल सहानुभूति मात्र होइन, सक्रिय परिवर्तन र दलित नेतृत्वको आवश्यकता औँल्याउँछन् । यो पुस्तक जातीय विभेदविरुद्ध सशक्त र आवेगपूर्ण आवाज हो भन्ने मलाई लाग्छ ।

‘नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष’ : ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ मा आहुतिले नेपालको जातीय संरचना र वर्गीय असमानताका पक्षहरूको गहिरो विश्लेषण गरेका छन् । यसमा लेखकले नेपालको जात व्यवस्थाको उत्पत्ति, दलित समुदायको उत्पीडन र उनीहरूको संघर्षलाई ऐतिहासिक र सामाजिक दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । पुस्तकमा दलितहरूको राजनीतिक संघर्ष, हिन्दु सामन्तवादको प्रभाव र दलित आन्दोलनका चुनौतीको चर्चा गरिएको छ । यसले नेपालको जातीय र वर्गीय असमानताका संरचनात्मक पक्षलाई उजागर गर्दै दलित मुक्ति र समानता प्राप्तिका लागि आवश्यक कदमबारे सुझाव पनि दिएको छ । नेपाल र दक्षिण एसियाका जातीय तथा वर्गीय संरचनाको गहन अध्ययनका लागि यो पुस्तक महत्वपूर्ण स्रोत मानिन्छ । समाज परिवर्तन गर्छु भन्ने युवा पुस्ताले आहुतिको ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ पढ्नैपर्छ ।

‘अनकम्फर्टेबल कन्भर्सेसन विथ अ ब्ल्याक म्यान’ : यो पुस्तक इम्यानुएल आचोले लेखेका हुन् । पुस्तक रंगभेद, श्वेत विशेषाधिकार र सामाजिक अन्यायका विषयमा खुला, इमानदार र असहज संवाद हो । इम्यानुएल आचो अश्वेत हुन् । उनी पूर्वएनएफएल खेलाडीसमेत हुन् । आचोले आफ्नो बाल्यकालदेखि लिएर खेलकुद र पेसागत जीवनसम्मको रंगभेद अनुभवलाई पुस्तकमा समेटेका छन् । यो पुस्तक विशेषगरी ती पाठकहरूका लागि हो, जो समानता र सामाजिक न्यायका लागि केही गर्न चाहन्छन् । तर, सुरु कहाँबाट गर्ने थाहा छैन । प्रश्न र उत्तर शैलीमा लेखिएको यस पुस्तकमार्फत आचोले श्वेत विशेषाधिकार, संरचनागत रंगभेद, अश्वेत तथा अल्पसंख्यक समुदायमाथि हुने अन्याय र यस्ता अन्य सामाजिक विषयलाई सरल तर गहिरो रूपमा व्याख्या गरेका छन् । उनले पुस्तकमा सहानुभूति मात्र नभएर सक्रिय परिवर्तन र न्यायसंगत नेतृत्वको आवश्यकतालाई पनि जोड दिएका छन् । पुस्तक अमेरिकाका लागि मात्र होइन, विश्वभरि नै न्याय र सामाजिक समावेशिताको पक्षधर सबैका लागि प्रेरणादायी स्रोत हो । दलित भएकैले मैले दैनिक भोग्नुपर्ने अप्ठ्यारा संवाद आचोको यो पुस्तकमा अश्वेत अनुभवरूपी सवाल र जवाफ बनेर सर्लक्कै आएजस्तो लाग्छ ।

अनमास्किङ एआई : पुस्तक जोय बुओलाम्विनीले लेखेका हुन् । ‘संसारमा ‘एआई’ आइसक्यो, अब कहाँ विभेद हुन्छ ? भन्नेहरूका लागि पुस्तकमा लेखक तथा शोधकर्ता जोय बुओलाम्विनीले कृत्रिम बुद्धिमत्तामा रहेका रंगभेद, लैंगिक र सामाजिक पूर्वाग्रहबारे गहिरो विश्लेषण गरेका छन् । अनुसन्धानमार्फत कसरी ‘फेसियल रिकग्निसन’जस्ता प्रविधिले कालो वर्ण भएका महिला, लैँगिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायलाई गलत रूपमा चिन्ने वा पूर्ण रूपमा बेवास्ता गर्ने गर्छन् भन्ने देखाएका छन् । उनी भन्छन्– आजको एआई प्रविधि केवल प्राविधिक समस्या होइन, सामाजिक न्यायको विषय पनि हो । किनभने, यी प्रविधिमा समावेश गरिएका डेटा र एल्गोरिदम स्वयं पूर्वाग्रही छन् । पुस्तक एउटा चेतावनी हो । हामीले अहिलेका प्रविधिमा लुकेका अन्याय देखेनौँ भने भविष्यमा अझ गहिरो विभेद हुन सक्छ । यो पुस्तक प्रविधिका नाममा भइरहेका अदृश्य भेदभावलाई उजागर गर्ने महत्वपूर्ण दस्ताबेज हो ।

द बडी किप्स द स्कोर : डा. बेसल भ्यान डर कोल्कको यो पुस्तक शरीर र मस्तिष्कमा पर्ने असरबारे लेखिएको गहिरो र प्रभावशाली कृति हो । कोल्क मनोचिकित्सक हुन् । उनले दशकौँसम्म ट्रमा (आघात), पिटिएसडी (पोस्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डर) र त्यसको उपचारबारे अनुसन्धान गरेका छन् । शरीरले विगतका दुःखद अनुभव सम्झिराख्छ । जब हामी गहिरो आघात भोग्छौँ, त्यसले मनमा मात्रै होइन, शरीरको स्नायु प्रणाली, मस्तिष्कको संरचना र व्यवहारमा पनि असर पार्छ । ती अनुभव दिमागले बिर्सन खोजे पनि शरीरले सम्झिराख्छ, जसले स्वास्थ्य, सम्बन्ध र जीवनको गुणस्तरमा असर पार्छ । कोल्कले पुस्तकमा बाल्यकालको दुर्व्यवहार, घरेलु हिंसा, युद्धपछिको मानसिक अवस्था, बलात्कारजस्ता गम्भीर ट्रमाको उदाहरण दिँदै योग, ध्यान, इएमडिआर (आई मुभमेन्ट डिसेन्सिटिजेसन एन्ड रिप्रोसेसिङ), न्युरोफिडब्याकजस्ता विधिको माध्यमबाट कसरी उपचार गर्न सकिन्छ भनेर व्याख्या गरेका छन् ।