१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ २३ शुक्रबार o८:o७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्याट्रिक महिला फुटबल टोलीको मुख्य प्रशिक्षक 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार o८:o७:oo
  • ग्लोबल आह्वानमा दर्खास्त दिएका २१ जनालाई पछि पार्दै बेल्जियमका प्याट्रिक डे विल्डेले नेपालको महिला टोलीलाई प्रशिक्षण दिने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय युइएफए प्रो–लाइसेन्सयुक्त प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक बेल्जियमका प्रशिक्षक प्याट्रिक डे विल्डेलाई एक वर्षका लागि अनुबन्ध गरेको हो । उनको पारिश्रमिक खुलाइएको छैन । यसको जानकारी एन्फाले शुक्रबार दिनेछ ।

मुख्य प्रशिक्षक बनेका विल्डेसँग विभिन्न क्लब र राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेको अनुभव छ । यसअघि उनले सोमालिया, रुवान्डा, अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए । एन्फाले महिला टोलीका लागि प्रो–लाइसेन्सयुक्त प्रशिक्षकको गत वैशाखमा ग्लोबल आह्वान गरेको थियो । जसमा विभिन्न राष्ट्रबाट २२ जनाले आवेदन दिएका थिए । एन्फाले यीमध्ये विल्डेलाई नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एन्फा महासचिव किरण राईले विल्डेलाई स्वागत गरेका छन् । नेपालको घरेलु फुटबलमा उनीसँग नेपाल सुपर लिगको अनुभव छ । उनले काठमाडौं रेन्जर्सलाई मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए । विल्डे महिला टोली सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन् । यसअघि अस्ट्रेलियाका ग्यारी फिलिप्सले पनि प्रशिक्षण दिइसकेका छन् । एन्फाले फिलिप्सलाई सुरुमा टेक्निकल डाइरेक्टरका रूपमा भित्र्याएको थियो । त्यसपछि उनलाई महिला टोलीमा रिक्त प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । 

शनिबारदेखि प्रशिक्षण थाल्ने
विल्डेको प्रशिक्षणमा शनिबारदेखि महिला खेलाडीले प्रशिक्षण सुरु हुने गर्नेछन् । अहिले नेपालले एएफसी एसिया कप छनोट खेल्दै छ । उज्वेकिस्तानमा हुने छनोटको समूह ‘एफ’मा नेपालले लाओस, उज्वेकिस्तान र श्रीलंकासँग खेल्ने तालिका छ । नेपालले २९ जुनमा लाओस, २ जुलाईमा श्रीलंका र ५ जुलाईमा घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ । 

नेपालको फुटबल इतिहासमा महिला राष्ट्रिय टोलीले अहिलेसम्म एकपटक पनि अन्तर्राष्ट्रिय उपाधि जितेको छैन । यद्यपि, महिला टोली दर्जनभन्दा बढी फाइनलमा पुगेको छ । यस्तो अवस्थामा नवनियुक्त मुख्य प्रशिक्षक विल्डेसामु उपाधिको खडेरी तोड्ने र टोलीलाई एसिया कपमा छनोट गराउने पहिलो लक्ष्य हुनेछ ।

२२ जना प्रो–लाइसेन्सधारीको आवेदन
एन्फाले महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पनि प्रो–लाइसेन्सयुक्त नियुक्त गरेको पहिलोपटक हो । विल्डेअघि लामो समयसम्म राजेन्द्र तामाङले टोली हेरेका थिए । फिफा तथा एएफसीले राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रो–लाइसेन्स अनिवार्य गरेपछि एन्फाले महिलातर्फ प्रशिक्षक चयन गर्न गत वैशाखमा आवेदन खुलाएको थियो । युइएफए प्रो–लाइसेन्सप्राप्त विल्डेसहित अन्य २२ प्रशिक्षकले दर्खास्त दिएका थिए । 

एन्फाको टेक्निकल कमिटीले सुरुमा १० जनाको सर्टलिस्ट तयार पारेको थियो । कमिटीले दोस्रो चरणमा पाँच र तेस्रो चरणमा दुईजनाको नाम सचिवालयमा पठाएको थियो ।सचिवालयले अस्ट्रेलियाकी महिला प्रशिक्षक निकोला डिमाइनीलाई दोस्रो नम्बरमा राखेको थियो । 

हङकङलाई रोक्यो नेपालले 
नेपाली पुरुष टोलीले हङकङविरुद्ध ३७ वर्षपछिको भेटमा गोलरहित बराबरी नतिजा निकालेको छ । सो कोन पोस्थित हङकङ रंगशालामा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दा घरेलु टोली निराश बनेको हो । हङकङका शतप्रतिशत गोल हुने तीन प्रहारलाई किरणले उत्कृष्ट बचाउन गरेका थिए । सन् १९८७ मा एसिया कपमै नेपाल र हङकङबिचको पहिलो भेट पनि गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो भेटमा बल पोसेसन बनाए पनि नेपालविरुद्ध हङकङले अन्तिम समयसम्म गोलका लागि प्रयास गरेको थियो ।  

सिर्जनको डेब्यु
खेलको ८२औँ मिनेटमा सिर्जनराज गौतमले अञ्जन विष्टलाई प्रतिस्थापन गर्दै पहिलो अन्तर्राष्ट्रिय क्याप जिते । इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश छिरेका मणि लामा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । इन्जुरी समयमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बनाए पनि हङकङले गोल गर्न सकेन । ११ जुनमा सन् २०२७ को एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लाओससँग खेल्नेछ । छनोट प्रतियोगिताको तयारीस्वरूप हङकङ र नेपालबिच मैत्रीपूर्ण खेल भएको थियो । 
 

छुटाउनुभयो की ?