
बागलुङका दुई बजारको फोहाेर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहाेर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ, तर सही रूपमा फोहाेर व्यवस्थापन नहुँदा वातावरण नै प्रदूषित हुने गरेको छ ।
दक्षिण बागलुङको बजारका रूपमा विकास हुँदै गएको कुश्मिसेराको फोहाेर अहिले जैमिनीधाम जाने सडकछेवैमा डम्पिङ हुँदै आएको छ । यसका कारण त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । नगरपालिकाले यसको व्यवस्थापन गर्न सकेको छैन । फोहाेरको दुर्गन्धका कारण यात्रु समस्यामा परेका छन् ।
बुर्तिबाङ बजारको फोहाेर अहिले वडा नं. ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । झन्डै आठ वर्षदेखि बाघखोरमा नगरपालिकाले फोहाेर फाल्दै आएको छ ।
नगरपालिकाले बाघखोरमा व्यवस्थापन गरेको फोहाेर ठुलो वर्षा हुँदा बगेर तमानखोलामा पुग्ने गरेको छ । फोहाेरले तमानखोला र भुजीखोलासमेत दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहाेरबाट जलचर प्राणीलाई समेत असर पुगेको छ । अहिले फोहाेर व्यवस्थापन गर्दै गरेको स्थान बुर्तिबाङ–तमानखोला सडकछेउमै पर्छ ।
सडकछेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ । सडकमा दैनिक सयौँ यात्रु आवतजावत गर्छन् ।
नगरपालिकाले खोलाछेउमा फोहाेर थुपारेर दैनिक आगो लगाउँदा धुँवाले सडकमा यात्रा गर्न गाह्रो हुने स्थानीय तेजबहादुर विकले बताए । गर्मीको समय फोहाेर कुहिएर टाढासम्म गन्ध आउने गरेको उनको भनाइ छ । यस ठाउँमा फोहाेर सही रूपमा व्यवस्थापन हुन नसक्दा हैजा फैलिने जोखिम बढेको विक बताउँछन् ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहाेर व्यवस्थापनका लागि जग्गा खोज्न सुरु गरेको बताए । वर्षौँदेखि नै यहाँ फोहाेर फालिँदै आएको भन्दै नयाँ सहर आयोजनासँग सहकार्य गरेर ‘डम्पिङसाइड’ निर्माण गर्ने उनको भनाइ छ । संघीय सरकारले फोहाेर व्यवस्थापनका लागि ८७ लाख विनियोजन गरेको भन्दै जग्गा व्यवस्थापन हुनासाथ अहिलेको ठाउँबाट फोहाेर हटाउने उनी बताउँछन् ।
कुश्मिसेराको फोहाेर व्यवस्थापनका लागि जग्गाकै समस्या छ । नगरपालिकाले जग्गा खोजिरहेको भन्दै गरे पनि अहिलेसम्म पर्याप्त पाउन नसक्दा फोहाेर व्यवस्थापनमा ढिलाइ भएको उपप्रमुख हरिहर शर्माले बताए ।
औद्योगिकग्रामका लागि करिब एक सय रोपनी र फोहाेरका लागि १५ रोपनी जग्गा आवश्यक परेको उनको भनाइ छ । दुईवटै संरचनाका लागि जग्गा प्राप्त गर्नासाथ फोहाेर व्यवस्थापन हुने उपप्रमुख शर्मा बताउँछन् ।
उपप्रमुख शर्माले भने, ‘फोहाेर व्यवस्थापन गर्नतर्फ हामीहरू गम्भीर नै छौँ, साँघुरो ठाउँमा पर्याप्त जग्गा नपाउँदा समस्या भएको छ, केही ठाउँमा जग्गा पाइए पनि आवश्यकअनुसारको पुगेन, यद्यपि हामीहरूले विभिन्न ठाउँमा जग्गा हेर्ने र प्राप्त गर्नका लागि पहल गरिरहेका छौँ, अहिले व्यवस्थापन गर्दै आएको ठाउँमा उचित नहुँदानहुँदै पनि बजारको फोहाेरलाई व्यवस्थापन गरिरहेका छौँ ।’