
चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु. १६ अर्ब १९ करोड १५ लाख मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टीतेल आयात भएका हुन् ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु. ९१ करोड ७७ लाख रकम अर्थात् ५.४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ५.९० प्रतिशत अर्थात् रु. ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए ।
कार्यालयको तथ्यांकअनुसार चालू आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु. सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा रु. सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार तीन सय किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, रु. पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ ।
चालू आवको १० महिनामा रु. दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, रु. ५५ करोड ९४ लाख मूल्य पर्ने ६ हजार ६० किलोलिटर एटिएफ र रु. १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टीतेल आयात भएको कार्यालयले जनाएको छ । रासस