१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १४:२३:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

च्याङ्ग्राकाे भुवाको बजार सुनिश्चित, किसान खुसी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

च्याङ्ग्राको भुवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ५, फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् ।  खेतबारीका लागि आवश्यक पर्ने प्रांगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भुवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुन् । 

फल्याकका किसान राजु गुरुङका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन । ‘शरीरबाटै झरेर खेर जाने गरेको थियो,’ उनले भने, ‘बजार सुनिश्चित गरेका पस्मिना व्यवसायीले च्याङ्ग्राको भुवा निकाल्न दक्षजनशक्तिसमेत व्यवस्था गरेकाले आजदेखि भुवा निकाल्न थालेका छौँ।’ 

नेपाल पस्मिना उद्योग संघले काठमाडौंमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फल्याकलगायत मुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भुवाको बजार सुुनिश्चित गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । 

भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुस्ताङबाट नमुना संकलन गरेर मंगाेलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदनअनुसार मुस्ताङी च्याङ्ग्राको भुवा पस्मिनाका लागि उपयुक्त मानिएको नेपाल पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले बताए। 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्ये १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ । घरघरमा थोरै संख्यामा च्याङ्ग्रा पाल्नेहरू पनि छन्।फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका बारागुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताइन्। यस वर्ष करिब दश किलोग्राम भुवा संकलन हुने अनुमान गरिएको छ । किसानबाट पस्मिना उद्योगीले प्रतिकिलो रु. चार हजार पाँच सयका दरले भुवा खरिद गर्छन् । 

मुस्ताङ र डोल्पाको छार्काका किसानले ०७९ मा तीन हजार किलोग्राम, ०८० मा दुई हजार किलोग्राम र ०८१ मा दुई हजार दुई सय किलोग्राम भुवा बिक्री गरेका छन् । पस्मिना व्यवसायी आबद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रूपमा प्रयोग हुन्छ । संघका अनुसार नेपालबाट वार्षिक ६ अर्बको पस्मिना निर्यात हुन्छ । वार्षिक रु. पाँच अर्ब मूल्यबराबरको चार सय टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । 

ठमेल, भक्तपुर, पाटन, सौराहा, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकले रु. एक अर्ब ५० करोड मूल्यबराबरको पस्मिना किनेर लैजाने गरेका छन् । मुस्ताङी च्याङ्ग्राको भुुवाको गुुणस्तरको दिगोपनाका लागि पस्मिना उद्योग संघमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए।

अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पस्मिना संघले भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुणस्तरीय भुवा उत्पादन र संकलनका विषयमा प्राविधिक सिप सिकाउन थालिएको छ ।
 
बाह्य परजीवीको आक्रमणबाट जोगाउन, शरीरमा भएको भुवालाई कीटाणुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुवा निकाल्नुअघि डिपिङ ट्यांकीमा च्याङ्ग्राको शरीर डुबाउने सिप सिकाउन स्थलगत तालिम सुरु गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पस्मिनाका लागि उपयुक्त र गुुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भुवाको दिगोपना र गुणस्तरमा ह्रास आउन नदिन किसानलाई सिप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठले बताए। 

भेटेरेनरी अस्पताल तथा पशुु सेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भुवा निकाल्ने गरिएको छ ।  

छुटाउनुभयो की ?