
ज्योति विकास बैंकले रोल्पाको घर्तीगाउँ स्वास्थ्य चौकीलाई बेबी वार्मर उपकरण सहयोग गरेको छ । बैंकले नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको जनाएको छ ।
यसका साथै बैंकले स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको पूर्तिघाटस्थित स्वाथ्य चौकीमा पनि सो उपकरण प्रदान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको जनाएको छ ।
बैंकले छुट्टाछुट्टै कार्यक्रम गरी बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ती स्वास्थ्य चौकीका पदाधिकारीलाई बेबी वार्मर हस्तान्तरण गरे । साथै, अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत यी तीनसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिन प्रदान गरिसकेको छ ।