१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
पत्रकार सम्मेलनमा बोल्दै खेलाडी दीपक हमाल
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ २२ बिहीबार o९:११:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुद मन्त्रालयमै रोकियो उसु खेलाडीको भत्ता

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार o९:११:oo
  • गत अक्टोबरमा जापानको योकोहामा भएको थाउलु विश्वकपमा सहभागी खेलाडीको खर्च र भत्ता उपलब्ध गराउन राखेपले मन्त्रालयमा प्रक्रिया अगाडि बढाए पनि मन्त्री तेजुलाल चौधरी भने संघ र ओलम्पिकको विवाद नसकिँदासम्म रकम निकासा नगर्ने पक्षमा 

खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष अक्टोबरमा भएको विश्वकप उसु प्रतियोगितामा सहभागी नेपाली टोलीले सहभागी जनाउँदाको खर्च रोकेको खेलाडीहरूले गुनासो गरेका छन् । तत्काल रकम उपलब्ध गराउन मन्त्रालयसमक्ष खेलाडीहरूले आग्रह गरेका छन् ।

जापानको योकोहामा भएको थाउलु उसु विश्वकपमा सहभागी नेपाली खेलाडीको भत्ता तथा अन्य खर्च उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद मन्त्रालयमा प्रक्रिया अगाडि बढाएको थियो । खेलाडीहरूको खाना र बसोबास खर्चको बिलअनुसारको रकम निकासा अन्तिम समयमा मन्त्री चौधरीले रोकेको आरोप खेलाडीहरूले लगाएका छन् ।

‘मन्त्रालयमा रकम निकासाका लागि जाँदा ‘मन्त्रीज्यूले पठाएको संस्थाबाट लिनू’ भन्ने जवाफ दिनुभएको छ,’ बुधबार खेलाडीहरूले पत्रकार सम्मेलनमा भने । मन्त्री चौधरीले भने जापान लैजाने सम्बन्धित निकायले नै सबै खर्च र भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् । उनले उल्टै खेलाडीले पाउनुपर्ने भत्ता किन रोकियो भन्ने प्रश्न गरेका छन् । ‘खेलाडीहरूले यसअघि नै पाउनुपर्ने भत्ता किन रोकिएको हो ?’ नयाँ पत्रिकासँग उनले भने, ‘फेरि खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता मैले रोकेको होइन, यो त ओलम्पिक कमिटीले हो ।’ 

विश्वकपमा दीपक हमाल, विजय सिँजाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगरले प्रतिस्पर्धा गरेका थिए । जापानमा भएको विश्वकपमा विजयले मुलुकलाई कांस्य पदक दिलाएका थिए । राखेपका सदस्यसचिव टंकलाल घिसिङले ऐतिहासिक पदक जितेका विजयलाई बधाई दिएका थिए । घिसिङले खेलाडीलाई भत्ता र पुरस्कारको प्रक्रिया अगाडि बढाएको जानकारी दिएका थिए । राखेपबाट अगाडि बढाइएको उसु खेलाडीको भत्ता तथा अन्य खर्चको फाइल मन्त्रालयमै अड्किएको छ । 

भत्ताको भुक्तानीमा सहजीकरण गर्न खेलाडीहरूले दुईपटक मन्त्रालयमै गएर मन्त्री चौधरीलाई अनुरोध गरेका थिए । ‘मन्त्रीज्यूले खेलाडी आफैँले लागेको खर्च तिर्नू भन्नुभयो । बाहिर खेल्न जानु–नजानुसँग मलाई कुनै मतलब छैन,’ मन्त्रीको भनाइ उद्धृत गर्दै १३औँ सागका रजत विजेता दीपक हमालले भने, ‘जसले पठाएको हो, उसैलाई गएर भन्न जानू ।’

सन् २०२४ को अप्रिलमा चीनको जियानजियनमा भएको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई थाउलु विश्वकपमा छनोट गरेको थियो । 

एसिया कप गुमाउने सम्भावना
चीनले २ देखि ६ जुलाईसम्म एसिया कप उसु प्रतियोगिता आयोजना गर्दै छ । तर, नेपाली उसु टोलीको अहिलेसम्म पनि दर्ता प्रक्रिया अगाडि बढेको छैन । आर्थिक अभावका कारण खेलाडीहरू भने पुरस्कार र भत्ता रकम पाए त्यसैबाट एसिया कपमा आफ्नो सहभागिताका लागि नाम इन्ट्री गराउने तयारीमा थिए । तर, मन्त्रालयले रकम रोक्का गरेपछि उनीहरूको एसिया कप खेल्ने सम्भावना कमजोर बनेको छ । एसिय कपमा नाम दर्ता गराउने अन्तिम दिन ५ जुन हो । बिहीबार निर्धारित समयसम्म नाम इन्ट्री नहुँदा नेपालले यसपटक एसिया कप उसु गुमाउने निश्चित छ । 

एनओसीका लामाको नेतृत्वमा टोली
मुलुकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता गरी दुई–दुईवटा नेपाल उसु संघ छन् । राखेपले शैलेश कर्माचार्यलाई उसुको कार्यवाहक अध्यक्ष बनाएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को मान्यतामा उसु संघका महासचिव लाक्पाछिरिङ लामा छन् । लामा एनओसीका पदाधिकारी पनि हुन् । उनै लामाले योकोहामा भएको विश्वकपमा नेपाली टोली लगेका थिए । मन्त्री चौधरीले एनओसीले खेलाडी लगेको र उसैले सबै खर्च व्यहोर्नु पर्ने बताएका छन् । 

‘खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता मैले रोकेको होइन, यो लैजाने काम ओलम्पिक कमिटीको हो,’ चौधरीले भने, ‘प्रतियोगिता जानुअघि नै उनीहरूबिच कस्तो सम्झौता भएको थियो ? ।’ मन्त्री चौधरीले राज्यले मान्यता नदिएको जीवराम श्रेष्ठ नेतृत्वको एनओसीमाथि कारबाही यथावत् रहेको बताए । ‘सरकारले एनओसीलाई कारबाही गरेको छ । यो अहिले पनि यथावत् छ,’ उनले भने, ‘राखेपसँग पनि यस विषयमा छलफल हुन्छ । खेलाडीको खर्च ओलम्पिक कमिटी वा राखेपले दिन्छ । मन्त्रालयले यो प्रक्रिया अगाडि बढाउँदैन ।’ 

खेलाडी भन्छन्– पलायन हुने अवस्था आयो
मन्त्रीज्यूले संघको विवाद मिलाएर आए मात्रै रकम निकासा गर्ने, नत्र हामीलाई त्यो पुरस्कार र भत्ताको रकम नदिने बताउनुभयो । हामी खेलाडी हौँ । जापानमा खेल्न जाँदा पनि भिनाजुसँग ऋण मागेको थिएँ । त्यो बल्लबल्ल तिरेँ । तर, अब अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा पैसा छैन । संघ, सरकार र ओलम्पिक विवादले गर्दा खेलाडी मर्कामा छौँ । हाम्रो मिहिनेत खेर जाने भयो । अब विदेश पलायन हुनुको विकल्प छैन । 

छुटाउनुभयो की ?