
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस जुन ५’ को अवसरमा विगत चार दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०२४’ पत्रकार विशाल बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । सौर्य राष्ट्रिय दैनिकमा वातावरण विषयका खोजमूलक समाचार लेखन गरेबापत बस्नेतलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस)मा पत्रकारहरूको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूमध्येबाट छनाेट गरी विषयगत विविधता, तथ्य–तथ्यांक, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्यांकन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले देशैभरिका पत्रकारहरूलाई सन् २०२४ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। समूहले प्रकाशित गरेको सूचनाअनुसार नेवापसमा ४९ जना पत्रकारले आवेदन दिएका थिए ।
समूहका पूर्वअध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा समूहका पूर्वमहासचिव निमेष रेग्मी र विज्ञसदस्य डा. विनोद भट्ट सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा बस्नेतलाई पुरस्कार दिने निर्णय गरिएको हो । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार– २०२४’ पाउने उनी ३८औँ पत्रकार हुन्। यो पुरस्कार समूहको आगामी साधारणसभाका दिनमा हस्तान्तरण गरिनेछ।
साथै, २०२४ का लागि प्रशंसनीय र उत्कृष्ट रिपोर्टिङ गरेका १० जना पत्रकारलाई ‘उत्कृष्ठ रिपोर्टिङ–२०२४’ प्रशंसा–पत्र प्रदान गर्ने घोषणा गरिएको छ । जसमा वसन्त ढुंगाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री, युवराज कँडेल, विकास आचार्य, अर्चना दर्जी (परियार), दुर्गा रानामगर र सागर परियार रहेका छन् ।