१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
जोनाथन केनेडी
२o८२ जेठ २१ बुधबार ११:o६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व जनसंख्याको वास्तविकतामाथि प्रश्न

Read Time : > 2 मिनेट
जोनाथन केनेडी
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार ११:o६:oo

स्रोतको जिम्मेवारीपूर्ण उपयोग र दिगो प्रविधिको विकास भए पृथ्वीले जनसंख्या वृद्धिको तीव्र दबाब पनि सहन सक्छ

राष्ट्र संघका अनुसार हाल विश्वको जनसंख्या आठ अर्ब २० करोडभन्दा बढी पुगेको छ । तर, हालैको एक अध्ययनले विश्वको जनसंख्या राष्ट्र संघको तथ्यांकभन्दा सम्भवतः अर्बौंले बढी हुन सक्ने देखाएको छ । यस्तो चिन्ता तथ्यांकभन्दा बढी शक्ति संघर्ष, जीवनको मूल्य र भविष्यप्रतिको दृष्टिकोणसँग जोडिएको हुन्छ । १९औँ शताब्दीको सुरुमा विश्व जनसंख्या एक अर्ब थियो । त्यसपछि जनसंख्या तीव्र गतिमा बढ्दै सन् १९२५ मा दुई अर्ब, सन् १९७५ तिर चार अर्ब र १५ नोभेम्बर २०२२ मा आठ अर्ब पुगेको घोषणा भयो । राष्ट्र संघको गणनामा ग्रामीण क्षेत्रको तथ्यांक अधुरो हुँदा वास्तविक जनसंख्या अर्बौंले बढी हुन सक्ने फिनल्यान्डको अल्टो विश्वविद्यालयको अध्ययनले देखाएको छ ।

धेरैले पृथ्वीमा आठ अर्ब मानिस टिकाउन सम्भव छैन भन्छन् । जनसंख्या वृद्धिलाई विश्व समस्याको मूल कारण ठानिन्छ । तर, यस्तो चिन्ता नयाँ होइन । सन् १९८८ मा लेखक आइज्याक आसिमोभले जनसंख्या वृद्धिको असर बुझाउन ‘बाथरुम रूपक’ प्रयोग गरेका थिए, जसअनुसार धेरै मानिस एउटै घरमा हुँदा बाथरुम प्रयोगको स्वतन्त्रता र सुविधा घट्छ । उनका अनुसार जनसंख्या वृद्धि केवल स्रोतमा दबाब मात्र नभई स्वतन्त्रता, मर्यादा र जीवनको मूल्यमा पनि गिरावट ल्याउने प्रक्रिया हो ।

१९औँ शताब्दीको सुरुमा जब पृथ्वीमा जनसंख्या एक अर्बभन्दा कम थियो, त्यतिवेला बेलायती अर्थशास्त्री थोमस माल्थसले मानव संख्या उपलब्ध स्रोतभन्दा धेरै भइसकेको निष्कर्ष निकालेका थिए । प्रविधिले खाद्य उत्पादनमा क्रान्ति ल्याउने सम्भावना नदेखे पनि उनका विचार लोकप्रिय भए । जनसंख्या वृद्धिसँगै विनाशको भविष्यवाणी गर्ने आवाज चर्किँदै गयो । सन् १९६८ मा पल र एनी एर्लिचको चर्चित पुस्तक ‘द पपुलेसन बम’ले यो चिन्ता उत्कर्षमा पुर्‍यायो । ‘मानवजातिको पोषणको लडाइँ सकिएको छ, सन् १९७० को दशकमा अर्बौं मानिस भोकमरीबाट मर्नेछन्’ भनेर पुस्तकमा लेखिएको थियो ।

यी त्रासदीपूर्ण भविष्यवाणीकै आधारमा सरकार र अन्तर्राष्ट्रिय संस्थाले कठोर कदम चाल्न सुरु गरे । उन्नत देशमा प्रजनन दर पहिले नै घटिरहेको हुँदा ती प्रयास मुख्यतः अफ्रिका र विशेषगरी एसियामै केन्द्रित भए । अमेरिकी विकास सहायता निकाय युएसएडले त्यसवेला ‘विकासशील देश’ भनिने ठाउँमा परिवार योजना कार्यक्रममा लगानी गर्‍यो । सन् १९७० को दशकको मध्यतिर त्यहाँ भएको संकटकालका समयमा भारतमा लाखौँ पुरुषको बन्ध्याकरण गरियो । सन् १९७९ मा चिनियाँ कम्युनिस्ट पार्टीले एक सन्तान नीति लागू गर्‍यो र केही वर्षपछि ठुलो मात्रामा बन्ध्याकरण अभियान चलायो, जसमा मुख्य रूपमा महिला तारो बने ।

आज पनि धेरै मानिस जनसंख्या वृद्धिलाई लिएर चिन्तित छन् । तर, अब उनीहरूको प्रलयको कल्पना जलवायु परिवर्तन, स्रोतको समाप्ति र जैविक विविधताको ह्रासमा केन्द्रित देखिएको छ । उपभोगको स्तरमा ठुलो असमानता देखिए पनि जनसंख्या नियन्त्रणका प्रयास अझै पनि बहुसंख्यक विश्व अर्थात् दक्षिणी गोलाद्र्धमा केन्द्रित छन् । उदाहरणका लागि औसत अमेरिकीले औसत सोमालीभन्दा तीन सय ६० गुणा बढी कार्बन उत्सर्जन गर्छ, तैपनि चासो विश्वका गरिब देशका जनसंख्यामा हुन्छ ।

सौभाग्यवश, भारत, चीनलगायत अन्य देशमा अघिल्लो समय अपनाइएका बलात् जनसंख्या नीति अब इतिहास भइसकेका छन् । अहिलेको दृष्टिकोण महिलाको सशक्तीकरणमा आधारित छ, जसले प्रजनन दर घटाउन प्रभावकारी भूमिका खेलेको छ । सन् १९६० मा प्रतिमहिला पाँच सन्तानको औसत थियो, अहिले यो २.३ मा झरेको छ र सन् २१०० सम्ममा १.८ मा झर्ने अनुमान छ । राष्ट्र संघका अनुसार सन् २०८० को दशकमा जनसंख्या १० अर्ब ३० करोडमा पुगेर स्थिर हुनेछ, त्यसपछि घट्न थाल्नेछ । जनसंख्या वृद्धि अब माल्थसले चिन्ता गरेजस्तो गम्भीर संकट होइन । यदि स्रोतको जिम्मेवार उपयोग र दिगो प्रविधिको विकास गरियो भने पृथ्वीले जनसंख्याको दबाब सहन सक्छ ।

आसिमोभको बाथरुम रूपकमा फर्किंदा धेरै मानिसले थोरै बाथरुम साझा गर्दा अवस्था असहज हुन्छ । तपाईंले चाहेको वेला नुहाउन पाउनुहुन्न, अनि नुहाउनुपर्‍यो भने पनि छिटो सक्नुपर्ने हुन्छ । तर, यस्तो अवस्था कुनै पनि हिसाबले सभ्यताको अन्त्य होइन । वास्तवमा सहमति र बाँडफाँड गरेर बाँच्नु नै धेरै मानिसको ‘सुखी जीवन’को कल्पनासँग नजिक हुन्छ, अर्थात् यसको आधार ‘जे चाह्यो, जतिवेला चाह्यो गर्ने स्वतन्त्रता’ भन्ने होइन ।

जनसंख्या वृद्धिको दर क्षेत्रअनुसार फरक देखिन्छ । अधिकांश धनी देशमा जन्मदर प्रतिस्थापन स्तरभन्दा तल झरिसकेको छ । आउँदो तीन दशकमा अफ्रिकाले विश्व जनसंख्या वृद्धिको आधा हिस्सा ओगट्नेछ, बाँकी एसिया र ल्याटिन अमेरिकाबाट हुनेछ । इतिहासकार एलिसन बासफोर्डका अनुसार जनसंख्या चिन्ता प्रायः धेरै मानिस नभई ‘गलत प्रकारका मानिस’प्रति हुने भय हो । युरोप र अमेरिकाका जातीय–राष्ट्रवादीले जन्मदर असमानतालाई ‘पश्चिमा सभ्यता’का लागि खतरा मान्छन् । तर, केही दशकपछि ती वृद्ध समाजले आप्रवासीकै सहारामा कर तिर्ने, सेवा दिने जनशक्ति पाउनेछन् । र, विकल्प खोजिन्छ भने भयावह अवस्था निम्तिनेछ ।

आसिमोभको रूपकलाई विस्तार गर्दा दक्षिणपन्थी लोकरिझ्याइँवादीहरूले ‘बाथरुम अर्पाइड (विभेद)’ को वकालत गर्छन् । उनीहरू ‘एन्सुइट आइसोलेसनिस्ट’ हुन्, जो निजी बाथरुममा विशेषाधिकार कायम राख्न चाहन्छन् र फ्ल्याटका बाँकी १९ जनालाई एउटै बाथरुम साझा गर्न बाध्य पार्छन् । सुरुमा त उनीहरूलाई यो फाइदाजनक लाग्न सक्छ, तर छिट्टै समस्या देखिन थाल्छ, अर्थात् साझा बाथरुम जाम हुँदा फोहोर फैलिन सक्छ वा अरूले निजी बाथरुम कब्जा गर्न सक्छन् । र, अन्ततः जब उनीहरू वृद्ध र अशक्त हुन्छन्, तिनको हेरचाह गर्ने कोही बाँकी रहँदैन ।

(केनेडी क्विन मेरी विश्वविद्यालयमा राजनीति एवं वैश्विक स्वास्थ्य अध्यापन गर्छन्) 
द गार्डियनबाट

 

छुटाउनुभयो की ?