
मंगलबारको चुनावपछि जारी एक्जिट पोलले ली जे–म्युङ दक्षिण कोरियाको नयाँ राष्ट्रपति बन्ने पक्का भएको बताएका छन् । डिसेम्बरमा पूर्वराष्ट्रपति युन सुक येओलले सैन्य कानुन घोषणा गरेपछि उनलाई महाभियोगबाट हटाइएको थियो । त्यसपछि नयाँ राष्ट्रपति चुन्न मंगलबार दक्षिण कोरियामा आकस्मिक चुनाव आयोजना गरिएको थियो । आकस्मिक निर्वाचनबाट चुनिएकाले लीको कार्यकाल बुधबारदेखि नै सुरु हुनेछ । यसअघि सत्ता हस्तान्तरणका लागि दुई महिनाको संक्रमणकाल हुने गर्थ्यो ।
एसियाको चौथो ठुलो अर्थतन्त्रमा मंगलबारको निर्वाचन सकिएपछि प्रसारण संस्था एमबिएनले जारी गरेको एक्जिट पोलमा डेमोक्य्राटिक पार्टीका उम्मेदवार लीले ४९.२ प्रतिशत मत पाउने र उनका निकटतम प्रतिद्वन्द्वी रुढिवादी उम्मेदवार किम मुन–सूले ४१.७ प्रतिशत मत पाउने प्रक्षेपण गरेको छ । त्यस्तै अन्य तीन प्रसारण संस्थाले गरेको संयुक्त एक्जिट पोलले पनि लीले ५१.७ प्रतिशत मत पाउने र किमले ३९.३ प्रतिशत मत पाउने देखाएको छ ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ‘ब्लु हाउस’मा पुग्न विगतमा दुई असफल प्रयास गरिसकेका ६१ वर्षीय ली पेसाले मानव अधिकार वकिल हुन् । उनले डिसेम्बरमा युनले मार्सल ल घोषणा गरेपछि युनविरुद्धको अयिभानको नेतृत्व गरेका थिए । संसद्ले केही घण्टामै युनको घोषणा उल्ट्याएपछि दक्षिण कोरियामा दशकयताकै सबैभन्दा ठुलो राजनीतिक संकट सुरु भएको थियो ।
त्यसबाहेक दक्षिण कोरियाले सुस्त अर्थतन्त्र, ट्रम्पको व्यापार युद्ध र उत्तर कोरियाले निम्त्याएको आणविक खतरालगायत सामना गरिरहेको छ । र, युनको कदमपछि देशमा गहिरिएको विभाजनले लीलाई उनको एकल पाँचवर्षे कार्यकालमा पछ्याउने अपेक्षा गरिएको छ ।
युनलाई हटाउन विपक्षी नेतृत्वको अभियानको नेतृत्व गर्ने ली आफैँमा दक्षिण कोरियाली राजनीतिमा विवादित व्यक्तित्व हुन् । उनीमाथि पहिलेदेखि घुसखोरी र सम्पत्ति विकास काण्डमा संलग्न भएको आरोपसहित आपराधिक मुद्दा चलिरहेको छ । अदालतले उनलाई मुद्दाको अन्तिम सुनुवाइ नभएसम्म राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्न अनुमति दिएपछि उनी चुनावमा उत्रिएका थिए । लीले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै राजनीतिक रूपमा प्रेरित उत्पीडनको रूपमा वर्णन गरे ।
गरिब घरपरिवारमा हुर्केका र बाल्यकालमा कारखानामा श्रम मजदुरी गरेका ली उग्र प्रगतिशील विचारका लागि चिनिन्थे । तर, पछिल्लो समय उनले आफ्ना नीतिलाई मत्थर देखाउने प्रयास गरे । उनले विदेश मामिलामा व्यावहारिक हुने वाचा गरेका छन् । यसअन्तर्गत अमेरिकासँग दक्षिण कोरियाको गठबन्धनप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
तथापि, उनी उत्तर कोरियाप्रति युनको टकरावपूर्ण दृष्टिकोणबाट टाढिँदै प्योङयाङसँग पुनः संलग्न हुन चाहन्छन् । तथापि, उत्तर कोरियाली नेता किम जोङ–उनसँग छिटो शिखर सम्मेलन पुनः सुरु हुन ‘धेरै गाह्रो’ हुने उनले स्विकारेका छन् ।