
इजरायली सेनाले मंगलबार गाजाको दक्षिणको सहायता केन्द्रनजिकै गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।
आक्रमणमा एकै ठाउँमा दर्जनौँ मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् । घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सीका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डानजिकै हजारौँ नागरिकविरुद्ध ट्यांक र ड्रोनमार्फत आक्रमण गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताए ।
इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको छ । गाजामा इजरायलले दुई महिनासम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खानालगायत अन्य अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् । पछिल्लो समयमा सहायता प्रवाह अनुमति दिएको छ भने अन्तर्राष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई अनुमति दिन आग्रह गरेको छ ।
हमासलाई पराजित गर्ने उद्देश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ । इजरायली सेनाले मंगलबार क्षेत्रको उत्तरमा आफ्ना तीनजना सैनिक मारिएको र द्वन्द्व सुरु भएदेखि प्यालेस्टिनी क्षेत्रमा मारिएका इजरायली सेनाको संख्या ४२४ जना पुगेको बताएको छ ।