
सल्यानको थारमारे–मौलाहाले–बडागाउँ हुँदै रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक स्तरोन्नतिको काम एक महिनादेखि ठप्प भएको छ। निर्माण सामग्री अभावका कारण वैशाख पहिलो सातादेखि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ।
धुलिखेल अप्लाइट जेभी सिन्धुपाल्चोकले १३ करोड रुपैयाँको लागतमा सडक स्तरोन्नतिको जिम्मा लिएको छ। कम्पनीले असार मसान्तसम्म कालोपत्रेसहितको काम सक्ने गरी पूर्वाधार विकास कार्यालय सल्यानसँग सम्झौता गरेको थियो। तर, निर्माण सामग्री अभाव भएपछि काम अघि बढ्न सकेको छैन।
सडक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन गर्न बागचौर नगरपालिका– ३ चौरपानीमा राखिएको क्रसर उद्योग बन्द भएपछि काम रोकिएको निर्माण कम्पनीका साइट इन्चार्ज मुकुन्दराज तिवारीले जानकारी दिए। उनले भने, ‘सबबेसको काम धेरै ठाउँमा सकिएको छ, अब बेस बिछ्याउने चरणमा छौँ। तर, क्रसर बन्द भएपछि अगाडि बढ्न सकेनौँ।’ अहिले कामदारहरू घर फर्काइएका छन् भने निर्माण उपकरणहरू साइट अफिसमै थन्किएको उनको भनाइ छ।
सबडिभिजन वन कार्यालय थारमारे र बागचौर नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (आइइई)विना उत्खनन गरिएको भन्दै क्रसर उद्योग सञ्चालनमा रोक लगाएका छन्। समन्वयको अभाव र कानुनी प्रक्रिया नपुगेका कारण एक महिनादेखि काम अवरुद्ध भएको छ।
पूर्वाधार विकास कार्यालय सल्यानका इन्जिनियर तथा सूचना अधिकारी सिद्धार्थ मिश्रका अनुसार काम रोकिँदा असार मसान्तसम्म कालोपत्रेसहितको काम सम्पन्न गर्न कठिन हुने भएको छ। ‘आर्थिक वर्षको अन्त्य नजिकिँदै छ, वर्षा पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा समयमै काम सकिन गाह्रो छ,’ उनले भने।
बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माण कम्पनीले थारमारे–चौरपानीबिचको भागको काम नगरेको भन्दै कार्यपालिकाको बैठकले त्यस क्षेत्रको काम पनि कम्पनीले गर्नुपर्ने निर्णय गरेको बताए। उनले भने, ‘उक्त क्षेत्रको काम नगरी क्रसर सञ्चालनको अनुमति दिइनेछैन।’ साथै, क्रसर सञ्चालनका लागि आवश्यक कागजात प्रस्तुत गरेपछि मात्रै स्थायी स्वीकृति दिन सकिने उनले प्रस्ट पारे।