१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार १३:४६:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

उखुखेतीबाट वार्षिक आठ लाख आम्दानी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १३:४६:oo

नेपालमा कमाइको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको संख्या बढ्दो छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका वेला बराहक्षेत्र नगरपालिका– ११, मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखुखेतीमै रमाइरहेका छन्। उनले रोजगारीको जोहो भने यहीँबाट गरिरहेका छन् । जीवन गुजारालाई विदेशको पर्खाइ भने छैन उनलाई । 

उनी भन्छन्, ‘देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन ।’ उनले तीन वर्ष पहिले दुई लाख ५० हजारको लगानीबाट अढाई बिघा जमिनमा उखुखेती सुरु गरेका थिए । उनले अहिले लगानी पनि बढाएका छन् भने उखुखेतीबाटै वार्षिक  पाँच लाखभन्दा बढी आम्दानी गरिरहेको बताए। 
 
‘उखुखेतीमा मजदुरको अभाव भने हुँदैन, मजदुर पनि पाइन्छ,’ उनले भने, ‘तर, जलवायु परिवर्तनले भने चुनौती थपिरहेको छ ।’ उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले भने प्रत्यक्ष प्रभाव पारिरहेको उनको अनुभव छ । विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुँदा बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या भने हुने गरेको महतोले बताए। उनी भन्छन्, ‘यस्ता असामान्य मौसम परिवर्तनले प्रभाव पार्दा दीर्घकालीन रूपमा उत्पादनमा गिरावट ल्याउन सक्ने सम्भावना भने बढाएको छ ।’ 

‘उखुखेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा जलवायु अनुकूल रणनीति अवलम्बन गर्नु आवश्यक छ,’ उनले भने। यसो गर्दा उत्पादनमा अझ वृद्धि हुन सक्ने उनको भनाइ छ । उनका अनुसार उखु रोपेको नौदेखि १० महिनामा काट्ने मिल्ने हुन्छ । उखु रोपाइँ फागुनदेखि चैतसम्म मानिन्छ । यो समयमा रोपिएको उखु मंसिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ । अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखुखेती गर्न सहज हुने उनले बताए। 
 
उनले भने, ‘बिक्रीका लागि बजारको समस्या भने हुँदैन, वार्षिक रूपमा एक हजार एक सयदेखि एक हजार दुई सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुँदै आएको छ ।’ 

उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा बिक्रीका लागि जाने गरेको उनले बताए। महतोका अनुसार अहिले उखुप्रति क्विन्टल ६८५ मा बिक्री भइरहेको छ । उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उनी सुनाउँछन्। 

‘केही वर्षअघिसम्म प्रतिक्विन्टल ६ सयसम्ममा उखु बेच्नुपर्थ्याे, अहिले मूल्य बढेको छ, यसमा म सन्तुष्ट छु,’ उनले भने। उखुको मूल्य सरकारले नै निर्धारण गर्ने प्रावधान रहेको बताउँदै उनले भने, ‘मूल्य सरकारले नै तोक्ने भएकाले हामी किसानहरूलाई स्पष्ट हुन्छ अनि व्यापारी र हामी किसानमा मूल्यको मोलमोलाइ हुँदैन ।’ 

प्रत्येक वर्ष याम सुरु हुनासाथ सरकारले मूल्य घोषणा गर्छ । सोहीअनुसार चिनी उद्योगहरूले किसानसँग उखु खरिद गर्ने गरेको उनले बताए। 

मकै, धान र कोदोको भन्दा कम लगानी तथा श्रम पनि कम लाग्ने साथै सरकारद्वारा मूल्य निर्धारण हुने हुँदा विश्वसनीयता हुनाका साथै सिधै चिनी मिलहरूसँगको सहकार्यले पनि उखुखेतीप्रति आफूलाई सहज र आकर्षित बनाएकाले उखुखेती गर्ने गरेको उनले बताए। 
 
महतोका अनुसार वर्षमा आठ लाखभन्दा बढीको उखु उत्पादन हुने गरेको छ । त्यसमा मल, मजदुर, गाडी भाडालगायतमा करिब दुई लाखदेखि दुई लाख ५० हजारसम्म खर्च हुने गरेको छ । बाँकी पाँच लाखभन्दा बढी बचत हुँदा घर व्यवहार चलाउन सजिलो हुनाका साथै मिहिनेतअनुसारको आम्दानी हुने गरेको उनले बताए। मौसमले साथ दिए अनि उखुमा रोग नलाग्ने हो भने अझ बढी आम्दानी हुने उनको विश्वास छ । 
 
‘अहिलेसम्म उखु उत्पादन राम्रै भइरहेको र आम्दानी पनि राम्रै दिएको छ, केही वर्षपछि थप अझ बढाएर उखुखेती विस्तार गर्ने सोचमा छु,’ उनले भने, ‘पहिले अरू खेती गर्दा सोचेजस्तो आम्दानी हुन नसक्ने, दुःख र मिहिनेत लागे पनि उखुखेतीबाट भने कम लगानी कम मिहिनेतले आम्दानी भएपछि केही स्थायित्व आएको महसुस भने भएको छ ।’
 
उनका अनुसार उखु काट्ने समयमा ६० जनाभन्दा बढी कामदारलाई दैनिक सात सय ज्याला दिएर कामदार लगाइन्छ भने उखुमा मल लगाउने समयमा दैनिकजसो ६ जनाभन्दा बढी कामदार राख्ने गरेको उनले बताए । 

‘मजदुरको अभाव भने खासै हुँदैन, ज्याला भने पहिलेको भन्दा अलिक वृद्धि भएको छ,’ उनले भने, ‘आफूलाई देशमा काम गर्ने मन र केही मिहिनेत भए आफ्नै देशमा धेरै सम्भावना छन्, मैले उखुखेतीबाट वर्षमा लाखौँ कमाइरहेको छु, विदेश गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर कमाउनु गर्वको कुरा हो, विदेश पलायन हुनुभन्दा अगाडि एकपटक खेतबारीमा पनि फर्केर सोच्नुपर्छ सम्भावना धेरै छ ।’ रासस


 

छुटाउनुभयो की ?