१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार १२:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङको संसारकोट दरबार पुनर्निर्माण गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १२:५६:oo

बागलुङको संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छ भने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।

संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका– ७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्‍याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जंगलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् ।

नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन ०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो । समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको ३६ लाख बजेटबाट पुनर्निर्माण भइरहेको छ ।

निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर कार्कीका अनुसार अहिलेसम्म भग्नावशेष दरबारको पर्खाल पुनर्निर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तललगायत संरचनामा रु. एक करोडबराबरको पूर्वाधार निर्माण भइसकेको छ ।

वि.सं. ०७७ सालमा पुरातत्त्व विभागले रु. ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनर्निर्माण थालिएकामा ०७९ सालमा रु. २० लाख बजेट थप विनियोजन गरिएको थियो ।

विभागले ढुंगा कुँदेर कलात्मक ढंगले रु. ५० लाख बजेटबाट ५० मिटर ढुंगाको मात्र पर्खाल लगाइएको थियो । अहिले पर्यटन मन्त्रालयको रकमबाट २० मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुंगा र काठको मात्र प्रयोग गरी निर्माण गरिएको छ ।

संसारकोटमा प्यागोडा शैलीको मोक्षदेवी भगवती मन्दिर, कलात्मक पर्खालको पुनर्निर्माण, सत्तल, खानेपानीका लागि आवश्यक पूर्वाधार तथा त्यहाँ पुग्ने पदमार्ग निर्माणले पछिल्लो समय धार्मिक पर्यटक आकर्षित गरेको छ । संसारकोटमा अहिले विद्युतसमेत पुर्‍याइएको छ ।

तीन वर्षअघि खसगाउँबाट थाप्लोसम्म चार सय मिटर पदमार्ग, अर्को वर्ष संसारकोटबाट सम्मेनीसम्मको पदमार्ग, खसगाउँ चौपारीबाट सम्मेनीसम्म र रामाइलो डाँडा गरी झन्डै चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । अहिले खसगाउँबाट र संसारकोटको बिचभागमा पदमार्ग बनाउन बाँकी रहेको कार्कीले बताए ।

पदमार्गको बिच–बिचमा चारवटा चौतारीसमेत निर्माण भइसकेका छन् । पर्यटन प्रवर्द्धन कार्यक्रम तथा पुरातात्त्विक स्थलको संरक्षण, मर्मत र जीर्णोद्वार कार्यक्रमले संसारकोटको मुहार फेरिँदै गएको छ । जिल्लाको ऐतिहासिक पर्यटकीयस्थलका रूपमा परिचित संसारकोट बागलुङको पाला, मूलपानी, मालिका, भीमपोखरा, धम्जा र म्याग्दीको ज्यामरुककोट, गौश्वरा तथा अर्कोतर्फ भकिम्ली समेतको जंगलको धुरीमा पर्छ ।

संसारकोट, ऐतिहासिक पर्यटकीय र सांस्कृतिक महत्त्व बोकेको क्षेत्रमा तत्कालीन बाइसे/चौबिसे राज्यअन्तर्गत पर्वते राजाले शासन गर्ने गरेको बुढापाकाले बताउने गरेको स्थानीय तेजप्रसाद न्युरेले जानकारी दिए ।

उनले बागलुङ ६ र ७ नम्बर वडामा तारजालकोट, कारिकोट, माझकोट, राँयकोट र शिरमा संसारकोट रहेकाले अहिले सबैको संगमस्थलका रूपमा पञ्चकोटको नामकरण गरेर धार्मिक पर्यटकसमेत भित्र्याइरहेको छ । संसारकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे र धवलागिरिलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

छुटाउनुभयो की ?