
सदरमुकाम खलंगासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस– ६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, ‘घरमै नागरिकता पाउँदा खुसी लागेको छ।’ जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरूप उनीहरूलाई पायक पर्ने स्थानमैै पुगेर नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए।
टोलीले व्याँस– ३, ४, ५ र ६ का १६१ जनालाई नागरिकता र २०५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा १३८ ज्येष्ठ नागरिक, दुईजना अपांगता भएका व्यक्ति रहेका थिए। राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत १९७ ज्येष्ठ नागरिक र पाँचजना अपांगता भएका व्यक्ति छन् ।
व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए । सदरमुकाम खलंगासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाबाट सदरमुकाम खलंगा आउन एकतर्फी गाडी भाडा मात्र रु. एक हजार लाग्छ भने आवतजावत गर्न कम्तीमा रु. तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताए।