१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
२o८२ जेठ १९ सोमबार १५:३६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पाँचखालमा जेठभित्र ६ हजार परिवारमा खानेपानी पुर्‍याइँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १५:३६:oo

काभ्रेपलाञ्चोककाे पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल-सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। यही जेठ मसान्तभित्र पाँचखालका पाँच हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ।

निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ। गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएपछि हाल पाँचखाल- ९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याई परीक्षण भइरहेको हो।

‘कुल ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ओभरहेड ट्या‌ंकीमा समेत पानी जम्मा गरी हाल बस्तीबस्तीमा परीक्षण भइरहेको छ, यही मसान्तभित्र सबैको घरघरघमा खानेपानी नियमित गराउनेछौँ,’ उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले भने।

लामिछानेका अनुसार ८४ लिटरप्रति सेकेन्डको दर भए पनि यतिखेर परीक्षणकालमा हाल ४२ लिटरप्रति सेकेन्डका दरले पानी ल्याइएको छ। उपभोक्ताका घरमा पानी पठाउने वेलासम्म पूर्ण क्षमतामा पानी ल्याइने लामिछानेले बताए। उपभोक्ता समितिले गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाइदिएको हो।

बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो। ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु. एक करोड ७० लाख क्षति पुगेको थियो। खानेपानी आयोजना २० वर्षसम्म नगरको जनसंख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो।

आयोजनाले गत चैतको अन्त्यसम्ममा घरघरमा पानी पुर्‍याउने गरी तीव्र गतिमा काम गरे पनि बाढीपहिरोले आयोजनाको समयसीमा केही धकेलेको जनाइएको छ। करिब दुई सय घरमा धारा जडान बाँकी रहेकाले धमाधम उक्त कार्य भइरहेको लामिछानेले बताए। दातृ निकायले गत डिसेम्बर ३१ मा समयावधि सकिए पनि विपतका कारण ६ महिना समय थपेको थियो।

आयोजनाको कार्य अन्तिम चरणमा प्रतिघण्टा तीन लाख दुई हजार चार सय लिटर पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको छ। लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको आयोजनाले जनाएको छ।

यस्तै आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा ६ वटा इनार, चार–चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, दश नयाँ वितरण ट्यांकी, ६ ब्रेक प्रेसर ट्यांकी तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ।

पाँचवटा जेनेरेटर राख्ने घर, ट्यांकीवरपर पर्खाल तथा तारबार लगाउने, ६ किलोमिटर पानीको मुख्य प्रसारणलाइन, ३७ किलोमिटर शाखा प्रसारणलाइनमध्ये ३५ किलोमिटर,  २३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म २२० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ। कुल ६ हजार ३७ धारामध्ये हालसम्म धारा जडान अन्तिम चरणमा पुगेको छ।

उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ। हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ। सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबिच ०७७ असार १५ गते ०७९ साल माघमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियाे।

आयोजनाको काम कोरोना संक्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पुर्‍याएका कारण पटक-पटक समय थप्दा आयोजना लम्बिएको जनाइएको छ। पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका- १०, बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो।

एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नम्बर २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरधुरीका ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन्। जसमध्ये दैनिक प्रतिव्यक्ति १९२.०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको  छ।

सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ। सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख पाँच हजार रुपैयाँ तीन सय परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले स‌ंकलन गरेका छन्। २१४ उपभोक्ताले सहकारीबाट ऋण लिएर खानेपानीका लागि रकम बुझाएका थिए। रासस

छुटाउनुभयो की ?