
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कथित राजावादीहरूले गणतन्त्र माओवादीको मात्रै हो भन्दै भ्रम फैलाइरहेकाे बताएका छन्।
योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘अहिले कथित राजावादीहरू जो बितण्डा गर्दै छन्, उनीहरूले यो गणतन्त्र माओवादीको बलमा आएको हो, अरूको होइन, माओवादीको मात्रै हो, प्रचण्डले ल्याएको गणतन्त्र हो, बेकारमा कांग्रेस–एमालेले आफू पनि गणतन्त्रवादी भन्छन्, भ्रममा बसेका छन् भन्ने प्रचार तपाईंहरूले पक्कै सुन्नुभएको होला।’
गणतन्त्र ल्याउन माओवादी र जनयुद्धको भूमिका प्रमुख र निर्णायक रहेको इतिहासलाई कसैले नकार्न नसक्ने उल्लेख गर्दै प्रचण्डले माओवादी एक्लैको भने नरहेको प्रस्ट पारे।
माओवादी र प्रचण्डलाई एक्लो पार्ने उद्देश्यले भ्रम फैलाइएको दाबी गर्दै उनले भने, ‘यो गणतन्त्र आमनेपाली जनताको हो। सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको हो। सबैले लडेर ल्याएको गणतन्त्र हो र यो गणतन्त्रलाई पछिल्लो चरणमा पार्टीहरूले पनि समर्थन गरेको हो। अन्ततः यो गणतन्त्र नेपाली जनताको गणतन्त्र हो।’