१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १८ आइतबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १३:२४:oo

शिवसताक्षी नगरपालिका– २ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खेधान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ– १ जातको धानको बोट सुकेको बताए । 

धानबाली पाक्ने वेलामा रोगको संक्रमण भएपछि नष्ट भएपछि किसानले निराश भएर स्थानीय पालिका गुहारेका छन् ।

‘लहलह धानका बाला झुल्न थालेको थियो,’ एक बिघा १५ कट्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भनिन्, ‘एक्कासि के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुससरह भयो ।’

उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउनसमेत समस्या भएको बताइन् । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनालीको भनाइ छ । 

धानबाली लगाउँदा किसानले मल, बिउ, सिँचाइ र श्रममा धेरै लगानी गरेका हुन्छन् । ‘धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ,’ किसान सुशीला काफ्ले भनिन् । 

नेक ब्लास्ट रोग धानको बिउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बिउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए । किसानले बिउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ । पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको उनले बताए।

उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए । माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्न सके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ ।