१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १७ शनिबार २१:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट सुरु

मदरल्याण्डको विजयी सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार २१:१७:oo

मदरल्यान्ड सेकेन्डरी स्कुलले पोखरामा शनिबार सुरु भएको एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पियनसिप विजयी सुरुवात गरेको छ । 

पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्डले बाराही माविलाई ९ रनले पराजित गरेको हो ।

खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको मदरल्यान्डले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ८७ रन जोडेको थियो । ८८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रेको बाराहीले १५ ओभर खेल्दै ८ विकेट गुमाएर जम्मा ७८ रनमा सीमित हुन पुगेको थियो ।

मदरल्यान्डका लागि प्लेयर अफ द म्याचसमेत रहेका विप्लव मल्लले ३१, अविक कर्णले १६, किरण पौडेलले १४ रन बनाएका थिए । बाराहीका अभिषेक एडिकेले २२, विजेश भट्टराईले १७ र सुमन श्रेष्ठले ११ रन बनाएका थिए । खेलमा बाराहीका अभिषेकले र विजेश भट्टराईले समान २ विकेट हात पार्दा मदरल्यान्डका किरण पौडेलले ३, विप्लव मल्लले २ विकेट हात पारेका थिए । 

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका विष्णु गौतमले जानकारी दिए । यसैगरी, एक्सपर्टले छक्का गएको बल एक हातले समात्ने दर्शकलाई प्रत्येकपटक एक हजार दिने गौतमले जानकारी दिए। त्यसैगरी प्लेयर अफ द सिरिज, बेस्ट ब्याटर र बेस्ट बलरलाई रत्नश्री जिमको तर्फबाट एक महिनाका लागि निःशुल्क जिमको प्याकेज पाउने भएका छन्।

२४ जेठसम्म चल्ने प्रतियोगितामा मदरल्यान्ड र बाराहीसँगै त्रिवेणी पब्लिक स्कुल, एसओएस, रत्नज्योति सेकेन्डरी स्कुल, डायमन्ड सेकेन्डरी स्कुल, प्रतिभा मावि, जुनियर सिटिजन एकेडेमी, कुमुदिनी होम्स, न्यू लाइट सेकेण्डरी स्कुल, सृजना मावि र अमरसिंह मावि गरी १२ विद्यालयको सहभागिता रहेको आयोजक संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रिय खेलाडी राजकुमार छन्त्याल, जिल्लास्तरीय खेलाडी प्रदीप तामाङ, मदरल्यान्डका शिक्षक विनोद तिमिल्सिना, स्याङ्जाका अफिसियल अम्पायरद्वय प्रदीप गुरुङ र टोपबहादुर राना, क्यानका अफिसियल पिच क्युरेटर राजन कुँवरले संयुक्त रूपमा गरेका थिए।