स्वस्थ हुन दौडँदा बिरामी हुने डर : वैकुण्ठ मानन्धर

दौडनेका दुःख 

२०७६ जेठ ३० बिहीबार १५:०१:००

म सामान्यतया बिहान ५ बजेबाट दौडन्छु । लगातार दुई घन्टा दौडने गरेको छु । प्रायः ७ बजेसम्म दौडने क्रम चल्छ । कुनै दिन ५ बजेबाट ढिला दौडन सुरु गरे पनि दुई घन्टाचाहिँ पुर्‍याउँछु । त्यति नदौडी चित्तै बुझ्दैन । तर, पहिलेजस्तो चाँडो दौडन भने सक्दिनँ । दुई घन्टामा पाँच किलोमिटरजति दौडन्छु । कहिलेकाहीँ भने साँझ पनि दौडन्छु । बिहान दौडिएको छु भने साँझ दौडन मन लाग्दैन । 

म सानैदेखि दौडन्थेँ । २० वर्षअगाडिसम्मको दौडाइ फरक थियो । ट्र्याकमा या ट्रेनिङका लागि दौडने गर्थें । ट्र्याकमा दौडँदाको अनुभूति अर्कै हुन्थ्यो । मेडल जित्ने लक्ष्य थियो । त्यसका लागि अरूलाई पछि पार्ने उद्देश्य राखेर दौडनुपथ्र्यो । जित्दाको अनुभव अर्कै हुन्थ्यो । त्यस्तो जितले भावुक पनि बनाउँथ्यो । 

अहिले शारीरिक तन्दुरुस्तीका लागि दौडन्छु । आफूलाई फिट राख्नुपर्छ भन्ने हेतुले दौडन्छु । प्रायः दशरथ रंगशाला नै जान्छु । कहिलेकाहीँ रंगशालाको छेउ भएर सैनिक मञ्च टुँडिखेलसम्म आइपुग्छु । दैनिक दौडिने रुट त्यही हो । 

यो ठाउँ २० वर्षअगाडि जस्तो थियो, अहिले छैन । पहिला जता पनि दौडन मिल्थ्यो । सहर शान्त थियो । हल्लाखल्ला नै थिएन । अहिले जताततै कंक्रिटका घर बनिसके । घर र मान्छे मात्र छन् । दौडन समस्या छ ।

त्यो समयमा त कहाँ यस्तो थियो र ? गाडी बाक्लो थिएन । गन्न सकिने गरी थिए । घर पनि पातला । खुला ठाउँ थियो । जता हे¥यो उतै हरियो देखिन्थ्यो । अहिले त बिहान दौडँदा पनि गाडीले किच्लाजस्तो लाग्छ । चाप यति धेरै छ कि डराउँदै दौडनुपर्छ ।

प्रदूषण पनि एकदम धेरै छ । सास फेर्नै मुस्किल । अनेक रोग लाग्छ । झनै रुघाखोकीले त हैरानै पार्छ । 

सडकमा खाल्डाखुल्डी छन् । कतिपय ठाउँमा मेलम्चीको पानी ल्याउन बनाइएका खाल्डा पुरिएका छैनन् । दौडँदा लडिने, खुट्टा मर्किने डर हुन्छ । सडक फराकिलो बनाउन भत्काएर धुुलाम्मे पारिएको छ । धुलोले कतैकतै त आफैँलाई पुर्छ । मास्क नलगाई हुन्न ।

ध्वनि प्रदूषण अत्यधिक छ । गाडीबाट मात्र होइन, मान्छेको भीडले पनि ध्वनि प्रदूषण बढायो । सबैतिरबाट सुविधा खोज्दै काठमाडौं आउने मान्छेका कारण भीड बढ्यो । पुरानो जनजीवन नै गुम्यो । 

यहाँ जति लथालिंग छ, त्यसले ‘मर्निङ वाक’ गर्नेलाई असर गरेको छ । असर मात्र पनि होइन, एकदम नराम्रो असर गरेको छ । बिहान दौडने भनेको फ्रेस हावा खान हो । आफूलाई फिट राख्नु त छँदै छ । तर, यहाँ त सास फेर्न पनि गाह्रो हुन्छ । 

बिहान घरबाहिर निस्कँदा पनि मास्क लगाउनैपर्छ । नत्र स्वस्थ हुन दौडिँदा झनै बिरामी हुने सम्भावना छ । बेलुकाभरिको धुवाँधुलो थुप्रिएको हुन्छ । बिहान त बाहिर नै ननिस्कौँ जस्तो लाग्छ । रोगीलाई त दौडनु पनि समस्या नै हो । मचाहिँ स्वस्थ नै छु । दौडने मात्र होइन कि खानपानमा पनि ध्यान दिन्छु । 

सडकमा खाल्डाखुल्डी छन् । कतिपय ठाउँमा मेलम्चीको पानी ल्याउन बनाइएका खाल्डा पुरिएका छैनन् । दौडँदा लडिने, खुट्टा मर्किने डर हुन्छ । सडक फराकिला बनाउन भत्काएर धुुलाम्मे पारिएको छ । धुलोले कतैकतै त आफैँलाई पुर्छ । मास्क नलगाई हुन्न । ढल बाहिरै निकालिएका छन् । पानी पर्दा त्यहाँबाट भल बगेर दुर्गन्ध हुन्छ । ढलको फोहोर कुल्चेर दौडनुपर्छ । 

काठमाडौं अव्यवस्थित हुनुको कारण नेताहरू इमानदार नभएर पनि हो । पहिला उनीहरू इमानदार हुनुपर्‍यो । खासमा यो काठमाडौं बाहिरबाट आएका मान्छेले चलाइरहेका छन् । त्यसले गर्दा पनि अस्तव्यस्त माहोल बनेको हो । जितेपछि एउटा कुरा गर्ने र हारेपछि अर्को कुरा गर्ने प्रवृत्तिले काम भइरहेको छैन । 

प्रतिकृया दिनुहोस