१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Wednesday, 25 June, 2025
बर्नेट सेरमेन
२o८२ जेठ १३ मंगलबार १o:४३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय विद्यार्थी नलिँदा अमेरिकालाई आर्थिक क्षति

Read Time : > 2 मिनेट
बर्नेट सेरमेन
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार १o:४३:oo

अमेरिकामा सन् २०२३–२४ मा मात्र करिब तीन लाख ७८ हजारभन्दा बढी रोजगारी अन्तर्राष्ट्रिय विद्यार्थीका कारण सिर्जना भएका थिए

ट्रम्प प्रशासनले हालै एक हजार तीन सयभन्दा बढी विदेशी कलेज विद्यार्थीको भिसा रद्द गरेको छ, केहीलाई थुनेको छ र देशभर क्याम्पसमा आप्रवासन नियन्त्रण कार्यान्वयन गरेको छ । यसले अमेरिकामा अध्ययनरत ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमा चिन्ता बढाएको छ । समाचारमा आप्रवासन र नागरिक अधिकारबारे बहस भए पनि अन्तर्राष्ट्रिय विद्यार्थीले स्थानीय समुदायमा पुर्‍याउने ठुलो आर्थिक योगदान प्रायः उपेक्षित छ । ट्रम्प प्रशासनको सुरुवातमै स्नातकोत्तर शिक्षामा विदेशी विद्यार्थीको रुचि घटेको देखिएको छ । यी विद्यार्थीले आफ्नै देशमै बस्ने निर्णय गरे भने त्यो अमेरिकाका साना–ठुला सहरका लागि आर्थिक रूपमा अशुभ हुनेछ ।

अमेरिकी आर्थिक विश्लेषण ब्युरोका अनुसार उच्च शिक्षा अमेरिकाको १०औँ ठुलो निर्यात हो । अन्तर्राष्ट्रिय विद्यार्थी शिक्षाका लागि अमेरिका आए पनि विभिन्न अर्थशास्त्रीले यसलाई निर्यात मान्छन् । गत वर्ष दुई सय १७ राष्ट्र र भूभागबाट आएका विद्यार्थीले अमेरिकी टेलिकम, कम्प्युटर र सूचना सेवा निर्यातभन्दा बढी आर्थिक योगदान दिएका थिए । यो प्रभाव राष्ट्रियस्तरमा मात्र नभई स्थानीयस्तरमा थप महत्वपूर्ण हुन्छ, किनभने प्रायः सबै अमेरिकी सहरमा कम्तीमा एक उच्च शिक्षाको संस्था हुन्छ । एक औसत अन्तर्राष्ट्रिय विद्यार्थीले २९ हजार डलरसम्म खर्च गर्छ, जसले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय पैसा प्रवाह गर्छ । तीनजना अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना हुँदा औसतमा एक रोजगारी सिर्जना हुन्छ । सन् २०२३–२४ मा मात्र करिब तीन लाख ७८ हजार एक सय ७५ रोजगारी अन्तर्राष्ट्रिय विद्यार्थीका कारण सिर्जना भएका थिए । परोक्ष रोजगारीसमेत जोड्दा यो संख्या अझ बढी हुन्छ ।

प्रतिष्ठित निजी विद्यालयले विश्वको ध्यान त तान्छन् नै, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सबैभन्दा बढी आकर्षण भनेको राज्यका विश्वविद्यालय र कलेज नै हुन् । गत वर्ष अमेरिकामा यी विद्यार्थी भर्ना गर्ने शीर्ष विद्यालयमध्ये २९ वटा राज्यका कलेज र विश्वविद्यालय थिए, जसले दुई लाख ५१ हजार तीन सयभन्दा बढी विद्यार्थीलाई आकर्षित गरेका थिए । यी सार्वजनिक शिक्षण संस्थानमध्ये शीर्ष तीन रहेका एरिजोना स्टेट विश्वविद्यालय, इलिनोइस विश्वविद्यालय अर्बाना–सेम्पेन र क्यालिफोर्निया विश्वविद्यालय बर्कलेले मात्रै करिब एक अर्ब ७० करोड डलरको आम्दानी गरेका छन् र १६ हजार आठ सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन् । 

यदि यो दायरालाई क्यालिफोर्निया विश्वविद्यालय प्रणालीका चार स्थानका साथै शीर्ष १० सार्वजनिक विश्वविद्यालयमा विस्तार गरियो भने चार अर्ब ६८ अर्ब डलरको योगदान पुग्नेछ र ४७ हजार एक सय ३६ जनाले रोजगारी पाउनेछन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीले ठुला विश्वविद्यालय भएका सहरको अर्थतन्त्रमा मात्र योगदान गरिरहेका छैनन् । मिनियापोलिसबाट करिब ८० माइल टाढा रहेको ४५ हजार जनसंख्या भएको सानो सहर म्यान्काटोलाई नै लिऊँ, जहाँ मिनेसोटा स्टेट विश्वविद्यालयको क्याम्पस छ । सन् २०२३–२४ को शैक्षिक वर्षमा करिब एक हजार सात सय १६ अन्तर्राष्ट्रिय विद्यार्थीले म्यान्काटोलाई आफ्नो दोस्रो घर बनाएका थिए । यी विद्यार्थीले सो समुदायमा चार करोड ५९ लाख अमेरिकी डलरको अर्थ प्रवाह गरेका थिए, जसले करिब एक सय ९० रोजगारी सिर्जना गरेको थियो । देशभरि म्यान्काटोजस्ता सहर र नगरमा यस्ता दर्जनौँ कलेज, क्याम्पस छन् । र, यी स–साना संख्या मिलेर ठुलो असर पार्छन् ।

निजी, सार्वजनिक र सामुदायिक कलेजले हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्छन् । कोभिड–१९ पछि घटेको भर्ना अब फेरि बढ्दै छ । सन् २०२४ मा ५९ हाजार तीन सय १५ अन्तर्राष्ट्रिय विद्यार्थी सामुदायिक कलेजमा भर्ना भएका छन्, जसमा चीन, भियतनाम र नेपालका विद्यार्थी शीर्षमा छन् । यी कलेजले करिब दुई अर्ब डलरको आर्थिक योगदान र आठ हजार चार सय ७२ रोजगारी सिर्जना गरेका छन् । रोजगारी विशेषतः टेक्सास, क्यालिफोर्निया र फ्लोरिडामा बढी देखिन्छ । टेक्सासमा ह्युस्टन कम्युनिटी कलेज, लोन स्टार कलेज र डलास कलेजले अग्रता लिएका छन् । यी कलेजले कुल २५ करोड ६७ लाख डलर र एक हजार ९६ रोजगारी सिर्जना गरेका छन्, जसमध्ये लोन स्टारले मात्र १० करोड २३ लाख डलर र चार सय ३८ रोजगारी दिएको छ, अर्थातु करिब हरेक दुई अन्तर्राष्ट्रिय विद्यार्थीमा एक रोजगारी जुन राष्ट्रिय औसतको दोब्बर हो ।

हालको तुलनामा एक दशकअघि अमेरिकी कलेजमा २३ लाखभन्दा बढी घरेलु विद्यार्थी भर्ना हुन्थे, जुन १०.७ प्रतिशतको गिरावट हो । यसले अन्तर्राष्ट्रिय विद्यार्थीप्रतिको निर्भरता बढाएको छ । विश्वविद्यालयले विदेशी विद्यार्थीलाई प्रायः आर्थिक रूपमा सहयोगी मान्छन्, किनभने अधिकांशले परिवार वा प्रायोजकबाटै खर्च व्यहोर्छन् । २० प्रतिशतभन्दा कम विदेशी विद्यार्थीले संघीय अनुदान पाउँछन्, त्यो पनि मुख्यतः स्नातकोत्तर तहमा । स्नातक एक्सचेन्ज विद्यार्थीमध्ये केवल ०.१ प्रतिशतले मात्र सरकारी सहायता पाउँछन् । सारमा चाहे स–साना सामुदायिक कलेज हुन् वा आइभी लिग, अन्तर्राष्ट्रिय विद्यार्थीले उच्च आर्थिक प्रभाव ल्याउँछन् नै ।

(सेरमेन बोस्टन विश्वविद्यालयका बहुराष्ट्रिय वित्त एवं व्यापारका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट