दोस्रो चरणको जागरण अभियान भदौ अन्तिम साताबाट : कांग्रेस  

कांग्रेसले भदौ अन्तिम साता दोस्रो चरणको जागरण अभियान थाल्ने भएको छ । पहिलो चरणको अभियान सफल भएका दावी गर्दै त्यस अवधिमा अन्य पार्टीबाट ३१ हजार ६ सय ४२ जना कांग्रेस प्रवेश गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अधिकांश सत्तारुढ नेकपाबाट प्रवेश गरेको कांग्रेसको दावी छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जागरण अभियानका लागि ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई असार १४ गतेसम्म लिखित प्रतिवेदन बुझाउन समयसिमा तोकिएको जानकारी दिए । लिखित प्रतिवेदन आएपछि केन्द्रीय  समिति बैठक बस्ने शर्माले उल्लेख गर ।

‘दोस्रो चरणको जागरण अभियान २४ भदौबाट असोज ७ सम्म संचालन हुन्छ,’ उनले भने, ‘एक महिने राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न असार तेस्रो साता केन्द्रीय समिति बैठक बस्छ ।’

त्यसैगरी भातृ संगठनको महाधिवेशन यथाशिघ्र गर्ने निर्णय हुने उनले बताए । उनले पहिलो चरणमा भएका केही कमजोरी दोस्रो चरणमा सुधार हुने दावी गरे । कांग्रेस संघीय संरचनामा नगएकाले अभियान प्रभावकारी नभएको पार्टीकै नेता कार्यकर्ताबाट आरोप लाग्दै आएको छ ।

त्यसैगरी शर्माले जनसम्पर्क समितिको लागि २१ जुनदेखि २३ जुनसम्म डेनमार्कमा कार्यक्रम हुने बताए ।

प्रतिकृया दिनुहोस