
दुई स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन्। जिल्लाका आठवटा स्थानीय तहमध्ये कनकासुन्दरी र पातारासी गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
गाउँपालिकाभित्रका आठवटै वडाका १५ महिना मुनिका २०३ बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिनाभित्रका ५८८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
चालू आर्थिक वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र आगामी दिनमा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै कनकासुन्दरीलाई पूर्ण खोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जंगलाल बुढाले जानकारी दिए।
पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित भएपछि पातारासी गाउँपालिकालाई घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढाथापाले जानकारी दिए।
पातारासीका पाँच वर्षमुनिका ५२७ बालबालिका छन्। जसमा ०-१५ महिनासम्म २१९ र १६ देखि ५९ महिनासम्मका जम्मा ३०८ बालबालिकाले पूरा खोप पाइसकेको गाउँपालिकाले जनाएको छ।
खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर सोमैले बताए। बाँकी स्थानीय तह पनि पूर्ण खोप सुनिश्चितता घोषणामा जुटेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
पूर्ण खोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ।