
संघीय राजधानीको प्रदेशविन्दु नागढुंगा–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि अपाह्न ३:०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको राससलाई जानकारी दिए ।
आयोजनाले नागढुंगा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ। प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।