१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
पवन बराइली काठमाडाैं
Invalid date format o९:२o:oo
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भ्रममा देखेको सपनाले कलाकार बनेँ

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

नाटकमा मात्रै होइन, अभिनेता विजय बरालले चलचित्र क्षेत्रमा पनि बेग्लै पहिचान बनाइसकेका छन् । उनले अभिनय गरेको कबड्डी, जारीलगायत दर्जनौँ चलचित्र दर्शकले मनमस्तिष्कमा सजाएका छन् । उनको प्रमुख भूमिका रहेको ‘पूर्णबहादुरको सारंगी’ले त व्यावसायिक रूपमा अहिलेसम्मकै सफल चलचित्रको संज्ञा पाएको छ ।

म कमेडियन बन्ने सपना बोकेर सर्लाहीबाट काठमाडौं आएको थिएँ । कमेडियन बनेपछि ठुलो मान्छे भइन्छ, सबैले चिन्छन् भन्ने भ्रम थियो । तर, काठमाडौं आएपछि नाटकको चस्का पस्यो । नाटकमा खेल्न त अभिनय सिक्नुपर्ने रहेछ । अभिनयका लागि नाटकको डेफ्थ बुझ्नुपर्ने रहेछ । संयोगले एक दिन गुरुकुलमा नाटक हेर्न पुगेँ । त्यतिवेलैदेखि नाटकमा अभिनय यसरी पो गरिने रहेछ भन्ने लाग्यो । यसपछि ४५ दिनको अभिनय प्रशिक्षण लिएँ । अनि बल्ल मेरो चेत खुल्यो । अभिनयको थप गहिराइ बुझ्न मण्डला पुगेँ । मण्डला नाटक घर आएपछि सपनाको दायरा फराकिलो भयो । नाटक घर बनाउने सपना देखियो । त्यतिवेला पर्दापछाडि बसेर नाटकमा निकै काम गरेँ ।

नाटकको ‘ब्याक स्टेज’मा काम गर्दा धेरै फ्रस्टेट पनि भएँ । नाटकमा अभिनय गर्न कहिल्यै पाउँदिनँ कि भन्ने पनि लाग्थ्यो । कहिले–कहिले त कमेडियन बन्न आएको मान्छे कहाँ फसेँ जस्तो पनि लाग्थ्यो । सपनाविपरीत काम गरिरहेको पने छु कि भन्ने पनि लाथ्यो । आफू निकै राम्रो अभिनय गर्छु भन्ने ममा भ्रम थियो ।

काठमाडौं आएपछि थाहा भयो, कलाकार बन्न सजिलो रहेनछ । यहाँको बाटोमा हिँड्दा पनि हराउँथेँ । उकालो चढ्छु उस्तै लाग्छ, ओरालो झर्छु उस्तै लाग्छ । सहरले खुब घुमायो । कहिलेकाहीँ नसकिने रहेछ भन्ने पनि लाग्थ्यो । तर, अभिनयबाट भाग्न भने सकिनँ ।

मैले बिस्तारै नाटकमा अभिनय गर्न पाएँ । त्यसपछि आफूलाई ठुलो मान्छे सम्झिन थालेँ । मैले गरेका पात्र चर्चित बन्न थाले । नाटकमा मलाई खोजिन थालियो । एकै वर्ष १३ वटासम्म नाटकमा अभिनय गर्थेँ । धेरै नाटकमा काम गरेपछि ठुलो र चर्चित भइन्छ भन्ने भ्रममा रहेछु । केही समयपछि चलचित्र ‘कबड्डी’मा काम गरेँ । चलभित्रमा मैले अभिनय गरेको ‘बिके’ पात्र निकै चर्चित बन्यो । पात्र चर्चित त बन्यो तर विजय बराल गुमनामजस्तै थियो । 

‘कबड्डी’पछि सहायक भूमिकामा मैले धेरै चलचित्र काम गरेँ । अधिकांश चलचित्रले मलाई कमेडी कलाकारका रूपमा मात्रै चित्रण गरे । म क्यारेक्टर एक्टर हुँ, जस्तो अभिनय पनि गर्न सक्छु भन्ने ठान्थेँ । जुन ‘पूर्णबहादुरको सारंगी’मा प्रमाणित गर्न पाएँ ।

सपना पूरा गर्न तयारी चाहिने रहेछ
मैले अभिनय गरेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ व्यावसायिक रूपमा सफल भयो । जसले नेपाली चलचित्र उद्योगमा व्यावसायिक सफलताको रेकर्ड राख्यो । यसले मलाई देशभित्र मात्रै होइन, विश्वभर रहेका नेपालीमाझ चिनायो । ‘पूर्णबहादुर सारंगी’को सफलता संयोगले पाएको सफलता हो, नदेखिएको सपना हो । यसले रातारात चर्चित बनाइदियो । सपना देख्नका लागि पनि आफू तयार हुनुपर्ने रहेछ । सपना देखेपछि पूरा हुन्छ भनेर बस्नुहुँदैन रहेछ । कतिपयले सपना देखेपछि आफैँ पूरा हुन्छ भनेको सुनिन्छ । तर, सपना आफैँ पूरा नहुने रहेछ । पूर्णबहादुरको सारंगीपछि मलाई यस्तो महसुस भयो । 

त्यसयता ममा अलि अहंता बढ्यो होला । ‘पूर्णबहादुर...’ अघिको विजय बराल र अहिलेको विजय बराल फरक भयो होला । यो बजारले बनाइदिएको हो । हिजो मलाई मास्क नलगाई हिँड्दा पनि चिन्दैनथे । बिकेको पात्रले मात्रै परिचित थिएँ । गुमनामजस्तै थिएँ । तर, मनमा सबैले चिनिदिएहुन्थ्यो भन्ने लाग्थ्यो । अहिले बाटोमा मास्क लगाएर हिँड्दा पनि सेल्फी खिच्न आउने हुन्छन् । यसैले पनि ममा इगो बढाइदिएको छ । ‘पूर्णबहादुर...’को सफलतापछि पनि नाटकमा अभिनय गरेको छु । किनकि, आफूलाई सन्तुलनमा राख्नु छ । समाजले स्टार त बनाइदियो । तर, आफूभित्र भने सामान्य मान्छे बन्नुपर्छ भन्ने लाग्छ । 

स्टारभन्दा कलाकार बन्न चाहन्छु
मेरो नामको अगाडि ‘स्टार’ जोडिन थालेको छ । यद्यपि, आफूलाई म स्टार ठान्दिनँ । स्टारको मूल्य एकनास हुँदैन जस्तो लाग्छ । कलाकार भनेको त अनवरत हुन्छन् । यसले सिर्फ अभिनय गर्ने हो । त्यसैले म कुशल अभिनेता÷कलाकार बन्न चाहन्छु । 

‘पूर्णबहादुर’ स्टार हो, विजय बराल स्टार होइन । मैले त चरित्र मात्रै गरेको हो । सिनेमाको पात्रचाहिँ स्टार हुन सक्छ । म स्टार होइन, समान्य मान्छे हुँ । म अभिनय मात्रै गर्छु । स्टारमा विश्वास गर्दिनँ । मलाई स्टारको अहंता पनि छैन । ‘पूर्णबहादुरको सारंगी’मा समाजको पात्र देखेर दर्शकले मन पराइदिनुभएको हो । मान्छेले सिनेमामा आफूजस्तो मान्छे देख्न चाहन्छ । त्यसैले मेरो पात्र मन पराइदिनुभयो । अभिनय त सबै कलाकारले गर्नुहुन्छ । फिल्मले व्यावसायिक रूपमा कीर्तिमान राख्यो । त्यो जस मैले पाएँ । त्यो जस अरूले पाउँथे होला । तर, मेरो भागमा पर्‍यो । मैले त्यो जस पाउँदा फुर्किन आवश्यक छैन । म सामान्य मान्छे हुनुपर्छ ।

हिजो ‘कबड्डी’मा हाफपाइन्ट लगाउने विजयलाई कसैले चिन्दैनथे । त्यही विजयलाई समाजले आज स्टार बनाइदिएको छ । समाजले मेरो अर्कै इमेज बनाइदियो । यो मेरा लागि डरलाग्दो कुरा हो । अहिले मलाई ‘एउटा फिल्मका लागि ४० लाख रुपैयाँ पारिश्रामिक लिन्छस् रे’ भन्छन् । विजय बरालले अहिले कसैले समय दिँदैन रे भनेको सुन्छु । तर, मलाई त्यस्तो थाहा छैन । यो त समाजले बनाइदिएको भाष्य हो । मैले कसैलाई पनि समय दिन्नँ भनेको छैनँ । अहिले नचाहँदा–नचाहँदै पनि म भिलेनजस्तो भइसकेँ । मैले कसैलाई ४० लाख पारिश्रमिक पनि मागेको छैन ।

फिल्म चलेको वेला सामाजिक सञ्जालमा मेरो चर्चा भयो । नेपालका अधिकांश मिडियाले कभर गरे । सबैतिर छाइरहेँ । यसअघिसम्म मेरो पात्र ब्रान्ड भएको थियो । सिनेमाले मेरो नाम ब्रान्डिङ गरिदियो । पूर्णबहादुर र विजय बराल पर्यावाची बने । ‘पूर्णबहादुर...’को सफलतापछि पनि नाटक गरिरहेको छु । मलाई घमण्ड गर्नु छैन । शून्यबाट आएको मान्छे हुँ । अभिनयको निरन्तर अभ्यास गर्दै आएको छु । अभिनय अध्ययन गरेर आएको हुँ । बुझेर आएको मान्छे हुँ । मेरा लागि चलचित्र मात्रै सबैथोक होइन । मैले कलाकारिता गर्ने हो । चलचित्रमा मात्रै अभिनय गर्नु छैन । 

म भावनात्मक मान्छे हुँ । कसैले यो गर्नुपर्‍यो भने नाइँ भन्न सक्दिनँ । तर, काममा सम्झौता गर्दिनँ । सम्झौताले धोका दिन्छ भन्ने लाग्छ । स्वतन्त्र भएर काम गर्नुपर्छ । हामी मनले काम गर्न आएका हौँ । रंगमञ्चमा मनले काम गरिरहेका छौँ । सम्झौता गर्दा परिणाम राम्रो आउँदैन । मेरा कतिपय सिनेमा झुर भए होलान्, नाटक झुर भए होलान्, आफ्नो ठाउँमा छ । तर, मेरो काम गर्ने शैली फरक छ । मैले कामका लागि कसैसँग पनि सम्झौता गरिनँ । अबका दिन पनि त्यस्तो सम्झौता गर्दिनँ ।