गोर्खाभर्तीबारे नेपालको नयाँ प्रस्ताव, ७२ वर्ष पुरानो त्रिपक्षीय सम्झौता के थियो ? 

२०७६ जेठ २९ बुधबार २१:४०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायतकी समकक्षी थेरेसा मेलाई गोर्खा भर्तीसम्बन्धी द्विपक्षीय सन्धी गर्न प्रस्ताव गरेका छन् । सन् १९५० मा भएको नेपाल-भारत शान्ति तथा मैत्रीसन्धी प्रतिस्थापनका लागि प्रयास भइरहेका बेला नेपालले बेलायतसँग गोर्खा भर्ती, पेन्सन लगायतका बारेमा द्विपक्षीय सन्धी गर्ने प्रस्ताव राखेको हो । यसबारे बेलायतको जवाफ सार्वजनिक भएको छैन ।

सुरुमा ब्रिटिश सेनामा र सन् १९४७ पछि त्रिपक्षीय सम्झौतापछि स्वतन्त्र भारतको सेनामा नेपाली युवाको भर्ती हुँदै आएको छ । गोर्खा भर्तीबारे भारत र बेलायतसँग नेपालले द्धिपक्षीय सम्झौता वा सन्धी गरेको छैन । प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार समकक्षीसँग भनेका छन्, ‘ब्रिटिश गोर्खा आर्मीका सम्बन्धममा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच सम्पन्न त्रिपक्षीय सन्धी पुरानो भयो । यससम्बन्धमा भर्ती, अबकास तथा अवकासपछिको अवस्था समेट्ने गरी नयाँ व्यवस्था गर्नुपर्छ, नेपाल र बेलायतबीच द्विपक्षीय सन्धी गर्नुपर्छ ।’

सन् १९४७ नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबीच गोर्खाभर्तीबारे सम्झौता भएको थियो । सो सम्झौतापछि भारतीय सेनामा नेपालीहरुको भर्ती सुरु भएको थियो । सम्झौता अनुसार बेलायती सेनामा रहेका गोर्खाका १० रेजिमेन्टमध्ये दोस्रो, छैठौँ, सातौँ र दशौं रेजिमेन्ट बेलायत पठाइयो, बाँकी भारतमा रहे । त्रिपक्षीय सम्झौतामा बेलायतका तर्फबाट एसीबी साइमन, भारतका तर्फबाट लेफ्टिनेन्ट कर्नेल कनवार दयासिंह बेदी र नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर राणाले हस्ताक्षर गरेका थिए । बेलायतको रोयल कोर्ट अफ जस्टिसले २०६५ असोज १४ गते गोर्खा सैनिक भर्ती अवैधानिक भएको ठहर गरेको थियो । बेलायतस्थित गोर्खामा करिब ३५ सय नेपाली युवा कार्यरत छन् । भारतीय सेनामा करिब ४० हजार कार्यरत छन् । बेलायतले वार्षिक ६० जना नेपालीलाई आफैँ छनौट गरेर गुर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा पठाइरहेको छ । तर, नेपालको सर्वोच्च अदालतले २०६६ असार ३० गते गरेको फैसलामा नेपाली युवाको सिंगापुर पुलिसमा भर्ती अवैधानिक रहेको ठहर गरिसकेको छ ।

दुईसय वर्षदेखि गोर्खाभर्ती 
१८१४-१६ मा ब्रिटिशसँग भएको युद्धका क्रममा बन्दी बनाइएका तीन हजार नेपाली सैनिकलाई समेटेर ब्रिटिश सेनाले सुरुमा सिरमुर बटालियन तथा त्यसपछि नासिर बटालियन र मलाउँ रेजिमेन्ट स्थापना ग¥यो । त्यसयता निरन्तररुपमा नेपालीहरु भर्ती भइरहेका छन् । हाल बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज अन्तर्गत ३ हजार ५ सय नेपाली कार्यरत छन् । भारतीय सेनाका ६ गोर्खा रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्समा गरी करिब ४० हजार नेपाली कार्यरत छन् । दुवै मुलुकका तर्फबाट नेपालीले दुई दर्जनभन्दा बढी युद्ध लडेका छन्  ।

कहाँ कहाँ लडे नेपाली ?
बेलायत र भारतीय सेनाका नेपालीहरु चीन, रुस, पाकिस्तान, श्रीलंकालगायत दुई दर्जनभन्दा बढी लडाईँमा सहभागी भएका छन् । भारतीय गोर्खाका तर्फबाट नेपालीले सन् १९६२ मा चीनसँग लडेका छन् । उनीहरु पाकिस्तानसँग १९६५मा र बंगलादेश स्वतन्त्रताका बेला सन् १९७१मा र १९९९ मा कार्गिलमा, श्रीलंकाको लिट्टे अपरेसनमा सन् १९८७ मा सहभागी भएका छन् । 

बेलायतका तर्फबाट नेपाली युवाले एक दर्जनभन्दा बढी युद्धमा सहभागिता जनाएका छन् । सन् १८८९मा इजिप्ट, सन् १८९०मा रसिया र मध्य एशिया, दुईवटा विश्वयुद्धमा सहभागिता जनाएका गोर्खालीले इरान, इराक, कोशोभो, सियरालियोन, ग्रिस, इटली, जापान, जर्मनी, ककेशशमा बेलायतका पक्षमा लडेका थिए । मलेशियाको गुरिल्ला वार, सिंगापुर, इन्डोनेशिया र मलेशियाको सीमाबिबाद, ब्रुनाई बिद्रोह र अर्जेन्टीनाको फकल्याण्डमा नेपालीले बेलायतका तर्फबाट युद्ध लडेका थिए । बेलायतले १२ जना गोर्खालाई भिक्टोरिया क्रसको सम्मान दिए पनि पेन्सन र अन्य सुविधा नपाएरै उनीहरुमध्ये धेरैको मृत्यु भइसकेको छ । 

भारतीय तथ्यांक अनुसार ८० हजार पूर्व सैनिक, १७ हजार अवकासप्राप्त आसाम राइफल्सका सैनिक र ११ हजार सैनिकका विधवाले पेन्सन बुझिरहेका छन् । उनीहरु सबैका लागि भारतले १२ सय करोड भन्दा बढी भारतीय रुपियाँ वार्षिक खर्च गरिरहेको छ । गोर्खा सैनिकले १९४८मा हैदरावाद प्रहरी कारबाही, १९९९ मा कार्गिल लडाईँमा योगदान पु¥याए बापत भारतको प्रसिद्ध परम वीर चक्र, अशोक चक्र, महावीर चक्रजस्ता सम्मानबाट विभुषित छन् । भारतले नेपालीलाई भारतीय सेनासरह सबै सेवा सुविधा दिएको छ । पेन्सनमा बेलायतले आफ्ना नागरिक र नेपाली लाई विभेद गर्दै आएको छ । 

हाल बेलायती सेनामा ब्रिगेड अफ गोर्खाज अन्तर्गत ब्रिटिश सेनामा रोयल गोर्खा राइफल्स, क्विन्स गोर्खा सिग्नल्स, क्विन ओन गोर्खा लजिस्टिक रेजिमेन्ट, क्विन्स ओन गोर्खा लजिस्टक रेजिमेन्ट छन् । पछिल्लोपटक बेलायतका तर्फबाट अमेरिकी नेतृत्वको नेटो सैनिकसँगको समन्वयमा गोर्खालाई अफगानिस्तानमा खटाइएको थियो ।

सिंगापुर र ब्रुनाईमा पनि गोर्खा
सन् १९४९ देखि सिंगापुर पुलिस फोर्समा गोर्खा कन्टिन्जेन्ट खडा गरिएको छ । सिख युनिटलाई विस्थापन गरी गोर्खा राखिएको यो फोर्स सिंगापुर पुलिसको महत्वपूर्ण अंग हो । अहिले गोर्खालाई सडक पेट्रोलियम, सिंगापुर एयरशोको अतिरिक्त सुरक्षाका लागि खटाइएको छ । 

ब्रुनाई गोर्खा रिजर्भ युनिट, बु्रनाईका सुल्तानको स्पेशल गार्ड फोर्सका रुपमा गोर्खा कार्यरत छन् । हाल सिंगापुर र ब्रिटिश सेनाबाट अवकाश पाएका करिब पाँच सयको हाराहारीमा गोर्खा कार्यरत छन् ।