
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सरकारकै संलग्नतामा भइरहेको बताएका छन्।
काठमाडौं सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा आज शुक्रबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई नै बिर्साउने गरी भिटिज भिसाको नाममा खुलेआम मानव तस्करी भइरहेको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकता देखाउन आग्रह गरे।
‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भइरहेको छ। एयरपोर्टबाट सरकारकै संलग्नता एवं सेटिङमा भइरहेको छ। यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’ साहले भने, ‘प्रधानमन्त्रीजी मौनता साध्नु र गृहमन्त्रीजी प्रतिक्रियाविहीन हुनु भनेको सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ।’
कांग्रेस–एमालेकै नेताहरू प्रत्यक्ष संलग्न रहेको भुटानी शरणार्थी काण्ड सबैलाई जानकारी भएको भन्दै उनले दुईतिहाइको शक्तिशाली सरकारले मानव तस्करीको काम गरेको आरोप लगाए। यो सरकारको विकल्प खोज्नुपर्ने भन्दै उनले थपे, ‘भुटानी शरणार्थी घटनालाई बिर्साउने गरी भइरहेको एयरपोर्टको मानव तस्करीमा कांग्रेस र एमालेकै नेताहरूको संलग्नता देखियो।’