
सिन्धुपाल्चोकको हेलम्बुमा करोडौँ लागतमा बनाउन लागिएका गुम्बाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन्। पाँच सय वर्षभन्दा पुराना ऐतिहासिक गुम्बाहरू ०७२ सालको महाभूकम्पबाट पूर्ण रूपमा भत्किएपछि पर्यटकीय महत्त्व बोकेका बहुमूल्य गुम्बाहरू निर्माण नहुदा त्यहाँका स्थानीयहरूले त्यसको प्रत्यक्ष असर भोग्नुपरेको अवस्थामा निर्माण थालिएका गुम्बाहरूको निर्माण अन्तिम चरणमा पुगेको हो।
पर्यटन क्षेत्रमा मात्र नभई जन्मदेखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरूको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरू भत्किँदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेका गुम्बाकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए।
भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण इकाइले पाँच वर्षअघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरूको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो । गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भए पनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र तार्के घ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भएको थियो। हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङलगायत सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसहित सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरूको निरीक्षण गरेका छन् । हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाले निरीक्षण टोलीसमक्ष बताएअनुसार चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ। चिरी गुम्बा निर्माण सम्पन्न भएपछि झन्डै १५८ घरधुरी (जजमान) सहभागी भएर वार्षिक झन्डै आधा दर्जनभन्दा बढी लामो तथा छोटो अवधिको नियमित पूजा सम्पन्न गर्ने स्थानीयले बताए ।
तार्केघ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भएअनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ लामाले बताए।
त्यस्तै, शेर्माथाङ गुम्बा निर्माणमा पाँच करोड ५० लाख सम्झौता भएअनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए । उनको अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्षसम्मका पुराना हुन्। यी गुम्बा पुरातत्त्व विभागले दिएको डिजाइनअनुसार प्राचीन शैलीमा नै पुनर्निर्माण भएको छ। अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग गरी गुम्बा भूकम्प प्रतिरोधात्मक बनाइएको छ। हाल हेलम्बुका गुम्बाहरूमा साना तथा ठुला गरी पुरातात्त्विक दर्जनौँ बुद्धको मूर्ति रहेका छन्। भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्त्वपूर्ण सामग्रीसहितका धार्मिक ग्रन्थहरू टहरामा राखिएका छन्।