
मोरङको रंगेली नगरपालिकाले यात्रु र मालवाहक सबैखाले सवारीसाधन कुद्ने व्यस्त राजमार्गमा बिस्कुन (अन्नबाली) सुकाउन दिने सहमति गरेको छ ।
सडकमा मकै सुकाएकै कारण ५ जेठमा रंगेली नगरपािलका– ७ निचामारीमा सडक दुर्घटनामा एक १३ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयहरूको मागअनुसार व्यस्त राजमार्गमा २० प्रतिशत क्षेत्रमा बिस्कुन सुकाउन पाइने गरी सहमति भएको हो ।
सडक ढाकेर बिस्कुन सुकाएकै कारण बालिकाको मृत्यु भएपछि रंगेली नगरपालिकाले सडकमा बिस्कुन सुकाउन नपाउने उर्दी जारी गरेको थियो । अनुगमनका क्रममा सडकमा सुकाएका केही बिस्कुनहरू नपाको नगर प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।
बालिकाको मृत्यु भएपछि यात्रुवाहक बस तोडफोड गरेर आक्रोशित बनेका स्थानीयले नपाले सडकमा मकै सुकाउन रोक लगाएपछि थप आक्रोशित बनेका थिए । उनीहरूले नगरपालिकाको निर्णयको विरोधमा संघर्ष थालेका थिए ।
बिस्कुन सुकाउन पाउनुपर्छ भन्दै स्थानीय आन्दोलित भएपछि ८ जेठ बिहीबार रंगेली नगरपालिकाले पूर्व–पश्चिम हुलाकी राजमार्ग मात्र नभएर सानाठुला सबै सवारीसाधन गुड्ने राजमार्गमा पूरै ढाकेर बिस्कुन सुकाउन नपाउने २० प्रतिशत मात्र सुकाउन पाउने गरी सहमति गरेको छ ।
नगरपालिकाकी उपप्रमुख झुमाकुमारी पराजुली, प्रशासकीय अधिकृत प्रदीप साह, नेपाली कांग्रेसका जागरनाथ मण्डल, एमाले अध्यक्ष राम चिमोरिया, नेकपा एसका प्रतिनिधि प्रह्लादकुमार खतिवडा किसान प्रतिनिधि लक्ष्मण साह र रंगेली प्रहरी प्रतिनिधिसहितको रोहवरमा शुक्रबार राजमार्गमा २० प्रतिशत बिस्कुन सुकाउन दिने सहमति भएको हो ।
पालिकाले राखेको सर्वदलीय सर्वपक्षीय छलफलमा कृषकहरूको मकै भण्डार गर्न समयमा सुकाउने ठाउँको अभाव भएकोले रंगेली नपाभित्र पर्ने पूर्व–पश्चिम हुलाकी राजमार्ग र उत्तर–दक्षिण कानेपोखरी रंगेली सडक क्षेत्रमा २० प्रतिशतमा धान, मकैलगायतका अन्नबाली सुकाउन पाउने र नगरपालिकाबाहिरका व्यापारीहरूलाई भने कुनै पनि अन्नबाली सुकाउन नदिने सहमति भएको छ ।
घटनाअनुसार ५ जेठमा दिउँसो कानेपोखरीबाट रंगेली आउँदै गरेको को.१ख २१३० नम्बरको यात्रुवाहक बसले एक्कासि बाटो काट्न आइपुगेकी बालिकालाई ठक्कर दिँदा १३ वर्षीया बालिका मीरा मण्डलको मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका थिए । बसमा तोडफोड हुन थालेपछि चालकले आफू र यात्रुको ज्यान जोखिममा परेको भन्दै बसलाई कुदाएर इलाका प्रहरी रंगेलीमा लगेका थिए ।
घटना अनुसन्धान गर्ने क्रममा सडकमा पूरै ढाकेर मकै सुकाएको र एक्कासि बाटो काटेकी बालिकालाई जोगाउने ठाउँ नहुँदा बसले ठक्कर दिएको खुलेको थियो । त्यसपछि नपाले आफ्नो क्षेत्रभित्रका राजमार्गमा अन्नबाली सुकाउन प्रतिबन्ध लगाएको थियो । तर, स्थानीयहरूले भने नगरपालिकाकै कारण कृषकहरूले सडकमा बिस्कुन सुकाउन बाध्य भएको भन्दै आन्दोलन चर्काएका थिए ।
रंगेलीवासी सुरेन्द्र मण्डलका अनुसार नगरपालिकाले माटो ओसारपसारमा चर्को कर लगाउँदा घर–आँगन पुर्न नपाउँदा सडकमा बिस्कुन सुकाउनुपर्ने बाध्यता भएको भन्दै बिस्कुन सुकाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए ।
कोशी प्रदेश सांसद अमृत आर्यालले रंगेली नगरपालिकाले आफ्नो क्षेत्राधिकारबाहिर गएर झन् विपत् बढाउने सहमति गराएको बताए ।
प्रदेश सांसद अर्यालले भने, ‘मलाई हिजो राति एकजना कार्यकर्ताले सडकमा २० प्रतिशत बिस्कुन सुकाउन पाउने सहमति भयो भन्दै खुसीको खबर फोनमा सुनाए, म त तीनछक्क परेँ ।’
मोरङका सिडिओ इन्द्रदेव यादवले सडक दुर्घटना पनि ठुलो विपतका रूपमा देखा परिसकेकाले सडक पूरै ढाकेर बिस्कुन मात्र नभएर गोबर, दाउरासमेत सुकाउने गर्दा झन् धेरै समस्या बढिरहेको बताए । उनका अनुसार तराईका जिल्लाहरूमा सडक ढाकेर बिस्कुन सुकाउने चलन संस्कृतिकै रूपमा विकास भइरहेको छ ।
सिडिओ यादवले भने, ‘बिस्कुन सुकाउन पाउनुपर्छ भनेर सयौँ मान्छे सडकमा उत्रिएपछि पालिकाले अवस्था शान्त बनाउन सहमति गरे पनि त्यो दिगो समाधान हाेइन, यो गम्भीर विषय हो ।’