
कैलालीको गोदावरी नगरपालिका– २ स्थित अत्तरिया बसपार्कमा बेहोस भेटिएका एकजनाको मृत्यु भएको छ । नामथर र ठेगाना खुल्न नसकेका करिब ३५ वर्षीय पुरुष बसपार्कमा बिहीबार बेहोस अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याएको थियो । त्यहाँबाट थप उपचारका लागि ती पुरुषलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।