
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका चार सदस्यलाई दिवाभोज दिएका छन् । समितिले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा जाने तयारी गरिरहेका वेला शाहले दिवाभोजसहित छलफल गरेका छन् ।
होटेल सोल्टीमा बिहीबार करिब साढे दुई घण्टा लामो छलफलमा पूर्वराजा ज्ञानेन्द्र, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र जनआन्दोलन समितिका संयोजक सुवेदी थिए ।
पूर्वराजा शाहले राजसंस्था र हिन्दु राष्ट्र पक्षधरबिच मोर्चाबन्दीका लागि आग्रह गरेअनुसार उनीहरू एकै ठाउँ उभिएका छन् । पूर्वराजा शाहलाई समिति संयोजक सुवेदी तथा तीनैजना नेताले आन्दोलन तयारीबारे जानकारी गराएका थिए । शाहले शान्तिपूर्ण गतिविधि गर्न अनुरोध गर्दै आएका छन् ।
सरकारले राजावादीहरूलाई संविधान र व्यवस्थाविरोधी गतिविधि गर्न खोजे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उदारतापूर्वक सभा, सम्मेलन गर्न दिने छुटलाई कमजोर नठान्न चेतावनी दिएका हुन् ।