
अख्तियारले नियन्त्रणमा लिएका त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराई आफूमाथिको जोखिम टार्न सफल भएको खुलेको छ । विमानस्थल अध्यागमनमा कर्मचारीको मिलेमतोमा सेटिङ धन्दा मौलाएको उजुरी अख्तियारमा गत आइतबार परेको थियो । यसपछि अख्तियारले यस विषयमा प्रारम्भिक रूपमा बुझ्न थालेको थियो । यसक्रममा उजुरीसँग सम्बन्धित आवश्यक प्रमाण जुटाउन अख्तियारले टोली नै गठन गरेर खटाएको थियो । सेटिङको केन्द्रमा कार्यालय प्रमुख भट्टराई नै रहेको स्पष्ट भेउ पाएको अख्तियार उनलाई नै पछ्याइरहेको थियो । अख्तियारलाई सूचना थियो– भट्टराईले कोही व्यक्तिमार्फत रकम बुझ्न लागेका छन् ।
रंगेहात पक्राउ गर्न अख्तियारले टोली परिचालन गरेको थियो । तर, एकाएक सूचना ‘लिक’ भयो । अख्तियारले सिधै पक्राउ गर्ने तयारी गरिरहेको सूचना पाएपछि गृह मन्त्रालयले अपर्झट उनको सरुवा गरिदिएको थियो । गृहले एक्कासि भट्टराईको सरुवा गर्नुलाई धेरैले आश्चर्य मानेका थिए । गृहले सरुवा गरिदिएपछि भोलिपल्ट बुधबार अख्तियार टोलीले भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । अहिले उनका सबै कम्प्युटरलगायतका डिभाइस नियन्त्रणमा लिएर सोधपुछपछि हाजिरी जमानीमा छाडिएको छ ।
उता अख्तियारले छानबिन अघि बढाएपछि बिहीबार गृहले केही नायब सुब्बा र कम्प्युटर अपरेटरहरूको सरुवा गरेको छ । स्रोतका अनुसार एमालेनिकट कर्मचारीलाई छानीछानी सरुवा गरिएको छ । सेटिङको समूहमा आबद्ध र कांग्रेसनिकट ट्रेड युनियनका कसैलाई पनि हटाइएको छैन ।
दोस्रो व्यक्तिको खाता प्रयोग गरेर तस्करीको अवैध रकम बुझ्थे भट्टराई
अनुसन्धानमा संलग्न स्रोतका अनुसार भिजिट भिसामार्फत तस्करी गरेबापत प्राप्त रकम भट्टराई आफैँले सिधै भने बुझ्दैनथे । यसका लागि दोस्रो व्यक्तिको खाता उनले प्रयोग गर्ने गरेको भेटिएको छ । ती व्यक्ति निजामती कर्मचारी नभएर बाहिरको भएको स्रोतको दाबी छ । उनलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
चारजना पक्राउ, कम्प्युटर, मोबाइललगायत डिभाइसको ‘फरेन्सिक’ परीक्षण हुँदै
हालसम्म अख्तियारले खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पक्राउ गरेको छ । उनीहरू कर्मचारी वृत्तबाहिरका हुन् । सेटिङमा उनीहरूको भूमिका देखिएको दाबी स्रोतको छ । त्यस्तै, अख्तियारले नियन्त्रणमा लिएका कम्प्युटर, मोबाइललगायतका डिभाइस फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
अध्यागमन विभाग र गृहको उच्च तहसम्मै पुग्थ्यो तस्करीको अवैध रकम
अख्तियार स्रोतका अनुसार भिजिट भिसामा मानिसहरूलाई बाहिर पठाएबापतको सेटिङमा अध्यागमन कार्यालय, विभागदेखि गृह मन्त्रालयसम्मै संलग्न छ । यसमा विभिन्न तहमा तल्लोदेखि माथिल्लो तहका कर्मचारी तथा मन्त्रीको टिमसम्म रकम पुग्दै आएको छ ।