Skip This
आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १२:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

पूर्वीलमजुङको राइनास नगरपालिका– ९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

२०७२ सालमा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनर्निर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो ।

राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत एक दर्जनभन्दा बढी हिमशृंखलाको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ ।

काठमाडौंबाट लमजुङको राइनासकोट पुगेका डा. ज्योतिप्रसाद गजुरेलले ऐतिहासिक थलो राइनासकोट भ्रमणले आफूलाई आनन्द तुल्याएको बताए । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेको उनको बुझाइ छ ।

उक्त डाँडाबाट गोरखाको पर्यटकीयस्थल बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट, गोरखाबजार, तनहुँको आँबुखैरनी, डुम्रेबजार, बन्दीपुर, दमौलीलगायत गाउँहरू सजिलै देख्न सकिन्छ । लमजुङको सदरमुकाम बेँसीसहर, भोटेओडार, सुन्दरबजार, भोर्लेटार, दुराडाँडा र पूर्वीलमजुङका अधिकांश भागसमेत उक्त डाँडाबाट आँखैअगाडि देख्न सकिन्छ । स्थानीयका अनुसार उक्त स्थानबाट १८ जिल्ला देख्न सकिन्छ ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मर्स्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ ।

रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको स्थानीय बताउँछन् । इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि यशोब्रह्मका छोरा नरहरि शाहले थप सुदृढीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए ।

समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल हो । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ संग्रहालयसमेत स्थापना गरिएको छ ।

लमजुङको गुरुङबस्ती रहेको राइनासकोटका १७ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ एक रातमा एक सयजनासम्म मानिस सजिलै बस्न सक्छन् । राइनासकोट सामुदायिक होमस्टेका व्यवस्थापक शम्भु गुरुङले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको संख्या अन्य दिनको तुलनामा बढी हुने गरेको उल्लेख गरे ।

‘शुक्रबार र शनिबार ५० देखि एक सयजनाको संख्यामा होमस्टेमा बास बस्न आउनुहुन्छ । अरू दिन ५० देखि ८० को हाराहारीमा पर्यटक आउनुहुन्छ,’ उनले भने ।

होमस्टेमा आएका पाहुनालाई जानेबित्तिकै वेलकम ड्रिंक्स, खाजा, रातिको स्थानीयस्तरमा उत्पादित अर्गानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको व्यवस्थापक गुरुङले बताए । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यहाँ एकै खालका २० घर पुनर्निर्माण गरिएको छ । अमेरिकी नागरिक नतासाको सहयोगमा पुनर्निर्माण भएको उक्त ठाउँमा होमस्टे सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिएको उनको भनाइ छ ।

काठमाडौंबाट १५५ किलोमिटर टाढा रहेको लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोटमा पछिल्लो समय काठमाडौं, चितवन, पोखरालगायत सहरबाट मानिस घुम्न आउने गरेका छन् ।