
काठमाडौं जोड्ने छोटो मार्गका रूपमा रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडकखण्ड १५ दिन बन्द गरेर धमाधम कालोपत्र भइरहेको छ ।
बागमती प्रदेशमातहतको पूर्वाधार विकास कार्यालय, हेटौँडाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ मा १२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइको सडकमा कालोपत्रे कार्य भइरहेको जानकारी दिए ।
जसअन्तर्गत ८.५० किलोमिटर सडकमा कालोपत्रे र चार किलोमिटरमा भने ढलान गरिनेछ । उनका अनुसार ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
हालसम्म उक्त खण्डको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ५५.४६ प्रतिशत भइसकेको छ । उक्त सडक असोजमा आएको बाढीले क्षति पुर्याएको थियो ।