
विद्युत् प्राधिकरणले गत शनिबारदेखि यो सिजनको बिजुली निर्यात सुरु गरेको छ । अहिले रातको समयमा दैनिक एक सय ५० मेगावाटदेखि दुई सय मेगावाटसम्म निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । दिउँसोको समयमा भने करिब चार सय मेगावाटसम्म भारतबाटै बिजुली आयात भइरहेको छ ।
भाइराजा शिल्पकार प्रवक्ता, प्राधिकरण
उत्पादन बढेसँगै आन्तरिक खपत गरेर बाँकी भएको अवस्थामा भारतको रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न सुरु गरेका हौँ । २४ घण्टा नै विद्युत् निर्यात भने भएको छैन । रातको समयमा १५० देखि २०० मेगावाटसम्म विद्युत् बिक्री गर्न पुगेको छ । यद्यपि, आन्तरिक उत्पादनले नपुगेको वेला आयात पनि गरिरहेका छौँ । मंगलबार पनि ३७३ मेगावाटसम्म विद्युत् आयात भएको थियो ।
राति आन्तरिक माग घट्ने भएकाले उत्पादित बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता भाइराजा शिल्पकारले जानकारी दिए । ‘भारतीय इनर्जी एक्सचेन्जमार्फत रियल टाइम मार्केटमा बिजुली निर्यात थालिएको छ,’ उनले भने, ‘उत्पादन बढेसँगै आन्तरिक खपत गरेर बाँकी भएको अवस्थामा भारतको रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न सुरु गरेका हौँ । २४ घण्टा नै विद्युत् निर्यात भने भएको छैन ।’
प्राधिकरणको तथ्यांकअनुसार मंगलबार दुई हजार चार सय ३३ मेगावाट घण्टा बिजुली भारततर्फ निर्यात भएको छ । मंगलबार नै तीन हजार एक सय ९९ मेगावाट घण्टा बिजुली भारतबाट आयात पनि गरिएको छ । मंगलबार पिक आवरमा १९ सय २२ मेगावाटसम्म विद्युत् उत्पादन भएको थियो । त्यसवेला विद्युत् माग भने १९ सय ५० मेगावाट थियो । मंगलबार पिक आवरमा २८ मेगावाट विद्युत् आयात गरिएको थियो । रात र दिउँसोको समयमा आन्तरिक खपत गरेर बाँकी भएको विद्युत् भारततर्फ निर्यात गरेको प्रवक्ता शिल्पकारको भनाइ छ ।
नेपालमा समयअनुसार विद्युत्को माग फरक–फरक हुन्छ । साँझ पिक आवरमा विद्युत्को माग बढी हुन्छ भने दिउँसो औसत रहन्छ । रातको समयमा भने विद्युत्को माग धेरै नै कम हुन्छ । त्यसवेला बाँकी भएको विद्युत् भारततर्फ निर्यात गरिएको प्रवक्ता शिल्पकारले बताए ।
हाल विद्युत्को जडित क्षमता ३५ सय मेगावाट हाराहारी छ । अहिले मनसुनका कारण खोलामा पानीको सतह बढेको छ । गर्मी भएको वेलामा पनि हिउँ पग्लेर खोलामा पानीको सतह बढेको छ । त्यसले खोलामा पानी सतह बढेको छ । फलस्वरूप, त्यस्ता खोलाको पानीमा निर्भर परियोजनाको उत्पादन बढ्न थालेको छ । त्यसपछि विद्युत् निर्यात पनि सुरु गरिएको हो ।
हिउँद लागेर विद्युत् उत्पादन घटेसँगै गत पुस ६ गतेबाट निर्यात रोकिएको थियो भने आयात सुरु भएको थियो । त्यसको पाँच महिनापछि निर्यात पुनः सुरु भएको हो । यद्यपि, विद्युत् आयात पनि कायमै छ ।
असारदेखि २४सै घण्टा निर्यात
सम्भवतः असारदेखि आयात पूर्ण रूपमा रोकिने र निर्यात पनि २४ घण्टा नै हुने प्राधिकरणको भनाइ छ । सम्झौताअनुसार प्राधिकरणले १ असारदेखि बंगलादेशलाई ४० मेगावाट विद्युत् पनि निर्यात गर्नेछ । त्यस्तै, भारतमा पनि नौ सय ४१ मेगावाटसम्म विद्युत् बिक्री गर्न यसअघि कै स्वीकृति भएको छ । यसपालि भारततर्फ थप स्वीकृति लिएर १२ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गर्ने लक्ष्य लिइएको छ । प्राधिकरणले चार वर्षअघिबाट विद्युत् निर्यातको ढोका खोलेको हो । सुरुमा भारततर्फ मात्रै निर्यात भइरहेको बिजुली गत वर्षदेखि भारतीय प्रसारण लाइन हुँदै बंगलादेशतर्फ पनि जान थालेको छ ।
नौ महिनामा प्राधिकरणको नाफा नौ अर्ब १९ करोड
बुधबार सार्वजनिक चैतसम्मको अपरिष्कृत वित्तीय विवरणसहितका प्रतिवेदनअनुसार चैत मसान्तसम्म प्राधिकरणले नौ अर्ब १९ करोड ८० लाख रुपैयाँ नाफामा आर्जन गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै फागुनसम्म नौ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको बताउँदै करसम्बन्धी कानुनअनुसार ह्रासकट्टी गर्दा पाँच अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको जिकिर गरेका थिए । तर, त्यसको एक महिनापछि प्राधिकरणले सार्वजनिक गरेको तथ्थांकमा नौ अर्ब १९ करोड ८० लाख रुपैयाँ नाफामा देखिएको छ । फागुनको तुलनामा चैतको नाफा भने घटेको छ ।
समीक्षा अवधिमा प्राधिकरणको कुल आम्दानी ९८ अर्ब ९५ करोड ६६ लाख रुपैयाँ रहेको छ, ८९ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ खर्च रहेको छ । कर कट्टी गर्नुअघिको अप्रशोधित नाफा नौ अर्ब १९ करोड ८० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको सोही अवधिमा भने प्राधिकरणको नाफा ११ अर्ब ६ करोड ३३ लाख रुपैयाँ थियो । गत आवको नौ महिनामा ९३ अर्ब ९४ करोड १० लाख रुपैयाँ आम्दानी हुँदा ८२ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ खर्च भई ११ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा भएको थियो ।
चैतसम्म साढे नौ अर्बको विद्युत् आयात
प्राधिकरणले चैतसम्म भारतबाट नौ अर्ब ४२ करोड ९२ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । गत ६ पुसदेखि आयात थालिएको थियो । चैतसम्म भारतबाट ९१ करोड ६१ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ । वैैशाखसम्मको तथ्यांक भने तयार हुन बाँकी छ । गत आवको चैतसम्म भने ११ अर्ब ५४ करोड ७१ लाख रुपैयाँको विद्युत् आयात भएको थियो ।
भारत र बंगलादेशमा १३ अर्ब १५ करोडको विद्युत् निर्यात
चालू आवको चैतसम्म प्राधिकरणले १३ अर्ब १५ करोड १९ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यो साउनदेखि पुससम्म विद्युत् निर्यातबापतको आम्दानी हो । गत आर्थिक वर्ष ०८१÷८२ को सोही अवधिमा १३ अर्ब ४२ करोड ९ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो ।