
तीन हप्तादेखि अवरुद्ध काेदारी राजमार्ग सुचारु गर्न कन्टेनर र सवारीसाधनबाट रकम संकलन गरेर पुनर्निर्माण गर्ने याेजना बनाइएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले नेतृत्व गरेर रकम संकलन गरिँदैछ। संकलित रकम तातोपानीस्थित काेप्लाङकाे भासिएकाे सडक निर्माणमा खर्च गरिने संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए।
‘व्यापारी व्यवसायीबाट स्वइच्छाले दिने रकम संकलन गरिने छ,’ उनले भने। सडक डिभिजन कार्यालयले लगाएको ठेक्कामा काम भइरहेकाे भएपनि तत्कालका लागि खासाबाट तातोपानी सुख्खा बन्दरगाहसम्म कन्टेनर पास गर्न जाली भरेर सडक निर्माण भइरहेकाे छ।
४९ घनमिटर तारजालीमा ढुंगा भरेर भासिएकाे सडक उठाउने काम जारी रहेकाे उनले प्रष्ट्याए। सधैँ सरकारकाे मात्रै मुख ताक्ने प्रवृत्ति अन्त्य गर्न व्यापारी व्यवसायी अगाडि आएको हिमालय सीमापार वाणिज्य संघका सदस्य तथा स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले बताए।
उनको भनाइ अनुसार फलफूल र रेडिमेड बाेकेका कन्टेनरबाट पाँच हजार र नयाँ विद्युतीय कारबाट एक हजार उठाउने तयारी गरिएको छ । तातोपानी क्षेत्रमा पाँच सय बढी विद्युतीय कार छन् । कन्टेनरहरुबाट अस्थायी रुपमा रकम संकलन गरेर काेष बनाउने र भैपरिआउने विपदमा रकम प्रयाेग गर्ने याेजना व्यापारीले बनाएका छन्।