
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबारको निर्णायक सहमतिसँगै अर्थशास्त्री डा. विश्वनाथ पौडेल मन्त्रिपरिषद् बैठकबाट नयाँ गभर्नर नियुक्त भएका हुन् । यसअघि गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको दुईपटक पुनर्गठन र दुवैपटक उम्मेदवार परिवर्तन भएका थिए । गभर्नर नियुक्तिमा देखिएको चलखेल र भएको ढिलाइको असर समग्र अर्थतन्त्रमै परेको थियो ।
२२ चैतमा रिक्त गभर्नर पदपूर्ति गर्न सत्तासाझेदार दुई दलका प्रमुख नेता ओली र देउवाबिच यसबिचमै पटक–पटक भेटवार्ता भए पनि सहमति जुटेको थिएन । उनीहरूबिच राजनीतिक भागबन्डामा गभर्नर कांग्रेसले लिने सहमति थियो । त्यससँगै सभापति देउवाले राष्ट्रबैंकका कार्यकारी निर्देशक भट्टलाई पहिलो उम्मेदवारका रूपमा सिफारिस गरेका थिए । तर, कार्यकारी निर्देशकबाट उनले दिएको राजीनामा डेपुटी गभर्नर निलम ढुंगानाले स्वीकृत गरिनन् ।
यसबाहेक भट्टका विषयमा सर्वोच्च अदालतमा रिट परेपछि देउवा हच्किएका थिए । भट्टलाई गभर्नर बनाउने विषयमा राजनीतिक, कानुनी र प्रशासनिक जटिलता बढेपछि सभापति देउवाले २८ वैशाखमा पौडेलको नाम विकल्पका रूपमा सिफारिस गरेका थिए । उनी ०७९ को संघीय निर्वाचनमा चितवन–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार थिए ।
१० दिनसम्म पनि उनको नाम अघि नबढेपछि मंगलबार प्रधानमन्त्री ओली र देउवाबिच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा एक घण्टा निर्णायक वार्ता भयो । र, त्यही वार्तापछि पौडेलको नाम टुंगो लाग्यो । भट्टलाई तत्काल नियुक्ति नगरे यसले सत्तासमीकरणमै प्रभाव पार्न सक्ने देउवाको चेतावनी थियो ।
ओली र देउवाबिच निर्णायक सहमति भएलगत्तै बेलुकी ४ बजे अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति बैठकले पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । त्यसलगत्तै, साँझ ६ बजे बसेको बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो ।
सत्तारूढ दुई दलबिच गभर्नर नियुक्तिमा डेढ महिनामा ठुलै रस्साकस्सी चल्यो । यहाँसम्मकी कांग्रेस महामन्त्री गगन थापाले त गभर्नर नियुक्तिका लागि बिचौलियाहरूले प्रधानमन्त्रीको बेडरुमसम्मै पहुँच पुर्याएकोसम्म आरोप लगाए । दुई दलबिचको सार्वजनिक असन्तुष्टि र ढिलाइको ‘साइड इफेक्ट’ले सरकार ढल्ने र गठबन्धन नै भत्कनेसम्मको चर्चा पनि चुलियो ।
सोमबार नियमित रूपमा बस्नुपर्ने मन्त्रिपरिषद् बैठक र सोही दिन प्रधानमन्त्री ओली तथा कांग्रेस सभापति देउवाबिच हुने भनिएको भेटवार्ता गभर्नरमा सहमति हुन नसकेकैले अचानक स्थगित भएको सूचना बाहिरियो । अस्वस्थताका कारण मन्त्रिपरिषद् बैठक स्थगित भएको र मंगलबार प्रधानमन्त्री संसद्मा सांसदहरूले उठाएको प्रश्नोत्तरमा सहभागी हुन नसक्ने जानकारी प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी बाहिर ल्याएको थियो । तर, त्यही समयमै अस्वस्थ भनिएका प्रधानमन्त्री ओलीले देउवासँग भेटवार्ता गरेपछि गभर्नर नियुक्तिले सत्ता संकटमा पुगेको पुष्टि भएको थियो ।
ओली र देउवाको गोप्य भेटलगत्तै दुवैले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकलाई बालुवाटारमा बोलाएका थिए । त्यही क्रममा उनीहरूले शीर्ष नेतालाई ब्रिफिङ गर्दै विषयलाई धेरै लम्ब्याउन नहुने सुझाव दिएसँगै गभर्नर नियुक्तिको विषय टुंगिएको थियो ।
लामो समय राजनीतिक दाउपेचले गभर्नर पद गिजोलिँदा प्रधानमन्त्रीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए । ‘पछिल्ला घटनाक्रम हेर्दा प्रधानमन्त्रीको कार्यकारीपन (कार्यक्षमता) ह्रास भएको प्रस्ट देखियो । भागबन्डाअनुसार नियुक्ति नगर्दा अहिलेको गठबन्धन संकटमा पर्छ भन्ने थाहा हुँदाहुँदै झन्डै दुई महिनासम्म ल्याङल्याङ गरेर दाउपेच गर्ने काम भयो,’ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘जनताबाट विश्वास आर्जन गर्नुपर्नेमा यो घटनाले सरकारप्रति जनतामा थप निराशा पैदा गरेको छ । जे छौँ हामी छौँ, जे गर्छौँ हामीले नै गर्छौँ, जहिले गर्दा पनि हुन्छ भन्ने सर्वसत्तावादी सोचले धेरै ढिलो गरेर गभर्नर नियुक्ति भएको प्रस्ट छ ।’
‘बिरामी भएँ’ भनेर संसद् नगएका प्रधानमन्त्री ओली बालुवाटारमा भने छलफलमा व्यस्त
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो । सांसदहरूले आफ्ना प्रश्न अग्रिम बुझाइसकेका थिए । प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्न सांसदहरू तयारीका साथ संसद् भवन पनि पुगिसकेका थिए । तर, संसद् सुरु हुनै लाग्दा ओलीले बालुवाटारबाट सूचना पठाए– स्वास्थ्य ठिक भएन, आउन नसक्ने भएँ । सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो ।
तर, अस्वस्थ रहेको भन्दै संसद्मा अनुपस्थित प्रधानमन्त्री ओली त्यहीवेला बालुवाटारमा सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्तामा व्यस्त रहे । गभर्नर नियुक्तिमा बढेको असमझदारी टुंग्याउन ओली–देउवा वार्तामा बसेका थिए । गभर्नरको विवाद टुंग्याएपछि प्रधानमन्त्रीले डा. विश्व पौडेललाई नियुक्त गर्न साँझ बालुवाटारमै मन्त्रिपरिषद् बैठक राखे ।