
हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा बाढीबाट १८ घरपरिवार विस्थापित भएको ६ दिन बित्दा पनि राहत सामग्री पुग्न सकेको छैन । १८ परिवारका ३२ जना हिमशिखर आधारभूत विद्यालय र त्रिपालमा बसिरहे पनि घरबाटै रासन लिएर आउनुपर्ने बाध्यता छ । गत बिहीबार मात्र तिलगाउँभन्दा साढे तीन किलोमिटर माथि रहेको हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बाढीमा परिणत भएको थियो ।
नारायण पाण्डेय प्रजिअ, हुम्ला
पालिकाको अगुवाइमा वितरण गर्ने गरी चामल, नुन, तेल, मैदा, चिउरा, चिनी, चियापत्तीलगायत अति आवश्यक खाद्यान्न घोडा, खच्चर र मान्छेले बोकेर लगेका छन् । बुधबार बिहान पुग्छ होला ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि विस्थापित परिवारमा राहत सामग्री नपुगेको स्वीकार गरे । तर, बाढीले खासै क्षति नपु¥याएकाले घरबाटै खाद्यवस्तु लिएर आउने गरेको उनले सुनाए । ‘दुई घरबाहेक अन्य घरमा खासै क्षति पुगेको छैन । बाढीपीडित दिनभर घरमा बस्ने, काम गर्ने गर्नुहुन्छ । तर, रातको समयमा मात्र आश्रय स्थलमा आउनुहुन्छ,’ उनले भने, ‘रातको समयमा फेरि ताल फुटेमा बाढी आउन सक्ने खतरालाई मध्यनजर गरी उहाँहरूले रातको समयमा घर छाड्ने गर्नुभएको हो ।’
यद्यपि, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले राहत सामग्री पठाउने निर्णय गरिसकेको र बुधबार बिहानसम्म खाद्यान्न, लत्ताकपडा पुग्ने प्रजिअ पाण्डेयले दाबी गरे । ‘पालिकाको अगुवाइमा वितरण गर्ने गरी चामल, नुन, तेल, मैदा, चिउरा, चिनी, चियापत्तीलगायतको अतिआवश्यक खाद्यान्न घोडा, खच्चर र मान्छेले बोकेर लगेका छन् । बुधबार बिहान खाद्यान्न पुग्छ होला,’ उनले भने ।
नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले पनि प्रभावित क्षेत्रका लागि खाद्यान्न सामग्री ढुवानी गइसकेको बताए । ‘बुधबार बिहानसम्म पुुग्छ । त्यसपछि बाँड्छौँ,’ उनले भने ।
बाढीले खानेपानीको पाइप बगाएको छ । खानेपानीको आयोजना मर्मतका लागि १६ सय मिटर पाइप त्यसतर्फ पठाइएको छ । ‘पहिलो प्राथमिकता खानेपानीलाई दिएका छौँ । त्यसपछि प्राथमिकताको आधारमा भौतिक संरचना निर्माण गर्दै जाने योजना छ,’ प्रजिअ पाण्डेयले भने । बाढीले काठका चारवटा पुलसमेत बगाएको छ ।
कारण खोज्न प्राधिकरणको टोली हुम्लातर्फ
नाम्खाको बाढीको अध्ययन गर्न राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्लातर्फ गएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार डिभिजन इन्जिनियर सुशील श्रेष्ठ नेतृत्वमा भूगर्भविद्, जलस्रोतविद्सहितको पाँच सदस्यीय टोली मंगलबार नेपालगन्ज पुगेको छ । ‘प्रारम्भिक विवरण त आइसकेको छ । तर, तालबाट किन र कसरी ठुलो मात्रामा पानी बाहिर आएर बाढी आएको हो । आगामी दिनमा के–कस्तो जोखिम छ भनेर अध्ययन गर्न टोली गएको हो,’ केसीले भने । टोली बुधबार हुम्ला सदरमुकाम सिमकोट पुग्नेछ । त्यसपछि पैदल नाम्खा जानेछ ।