Skip This
मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न सांसदहरूको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ ६ मंगलबार १३:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न सांसदहरूको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:o२:oo

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरूको समस्या सुनुवाइ गर्न माग गरिन्। उनले भनिन्, ‘मर्यादापालकहरू सुरक्षामा खटिनुहुन्छ । उहाँहरूलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन । पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस् ।’

यसैगरी, सांसद विनीताकुमारी सिंहले सरकार जनता आवास कार्यक्रमबारे गम्भीर नदेखिएको बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७९/८० मा सिराहामा जम्मा ४८८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो । तर, हालसम्म पहिलो किस्ता मात्र विनियोजन गरिएको छ । बाँकी किस्ता छिटोभन्दा छिटो विनियोजन गरिनुपर्छ ।’

सांसद विना जैसवालले बैंक तथा वित्तीय संस्थाहरूले निकै कम मूल्यांकनमा ऋणीको धितो लिलाम गर्ने गरेको विषय उठाइन् । त्यस्तै, कर्जा लिँदा विभिन्न खालका झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि नियामक नेपाल राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्। बैंक तथा वित्तीय संस्थाको एटिएम सेवा चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने माग पनि उनले गरिन्। 

सांसद शान्ति श्रेष्ठले आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा गरिबी हटाउन आशालाग्दो कार्यक्रम ल्याइएको भन्दै यसलाई बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। उनले प्रत्येक जिल्लामा आवासीय विद्यालय निर्माण गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताइन् ।  

सांसद शिव नेपालीले लामो दूरीका एसी, डिलक्स सवारी तथा हवाईजहाजजस्ता साधनमा अत्यधिक भाडा असुल्ने, तर सोहीअनुसार गुणस्तरको सेवा नदिने गुनासो सर्वसाधारणको रहेको भन्दै यसलाई तत्काल रोक्न अनुगमन बढाउनुपर्ने माग राखे ।  

सांसद शिशिर खनालले काठमाडौं महानगरपालिका– २६ अन्तर्गत ठमेलबाट गोल्कोपाखा हुँदै गोंगबु चोकसम्म पुग्ने सडक केही विस्तार गरी कालोपत्र गरिएको बर्सौँ भइसक्दा पनि सडकको बिचमा बिजुलीको पोल नहटाइँदा दुर्घटनाको जोखिम रहेको बताए । उनले सडक साँघुरो भई यातायात आवगमनमा बाधा भइरहेको बताए ।  

सांसद शेरबहादुर कुँवरले पूर्वजनप्रतिनिधिको उपचारमा राज्य अनुदार बन्दै गएको आरोप लगाए । उनले काभ्रेबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेती सिकिस्त बिरामी भई उपचाररत रहेकाले उपचारको व्यवस्था गर्न माग गरे ।  

सांसद शोभा ज्ञवालीले बर्दियाको बबई नदीमा जब्दी पुल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु राम्रो पक्ष भए पनि निर्माण छिटो गर्न ध्यानाकर्षण गराइन् ।

सांसद सरिता भुसालले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा चुनौतीपूर्ण बन्दै गएको त्यसमाथि युवाहरू झन् यसको कुलतमा फसिरहेकाले सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने, खुला वितरणमा रोक लगाउनुपर्ने तथा विस्तारै यसलाई ‘फेजआउट’ गर्दै लानुपर्ने बताइन् ।