
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचना गर्न प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा गठित समितिले पूर्णता पाएको छ । समितिमा कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कँडरिया र डा. यज्ञगजाधर खड्कालाई सदस्य नियुक्त गरिएको छ ।
समितिका पदाधिकारीलाई कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सोमबार नियुक्तिपत्र दिएका छन् । उनले नार्कलाई समयसापेक्ष रूपमा सुधार गर्न समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गरे ।
समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए ।