१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
Invalid date format १५:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चन्दा उठाएरै सामुदायिक विद्यालयलाई स्थानीयले बनाए पूर्ण आवासीय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२o:oo

खोटाङको रावाबेँसी गाउँपालिका– १, कुभिन्डेस्थित दम्कुमा ८० घरपरिवारको बसोबास छ। एक घर तामाङ र ७९ घर राई जातिको बसोबास रहेको दम्कुमा सामाजिक काम सबै एकताबद्ध भएर गर्दै आएका छन्। गाउँको बिचमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ। कक्षा आठसम्म अध्ययन–अध्यापन हुने यस विद्यालयमा चालू शैक्षिक सत्रका लागि ६२ जना विद्यार्थी भर्ना भएका छन्।

गाउँपालिकाबाट यसै वर्ष कक्षा आठसम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउन कसिएका छन्। ०३६ सालमा स्थापना गरिएको विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा दुईसम्म अंग्रेजी माध्यमको पढाइ हुन्छ।

विद्यार्थी अभावमा १२ वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजन गरेर सञ्चालन गरिएको कालिका आधारभूत विद्यालयमा प्रत्येक शैक्षिक सत्रमा क्रमशः बढाउँदै लगेर कक्षा आठसम्म नै अंग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ।

०७० सालमा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालय समायोजन गरेर कालिका आधारभूत विद्यालय बनाइएको थियो। चन्दा संकलन गरेर जुटाएको रकमले यसै शैक्षिक सत्रदेखि पूर्ण आवासीय बनाइएको छ। आवासीय भएर अध्ययन गर्न १४ छात्र र २० छात्रा भर्ना भएका छन्। कक्षा दुईभन्दा माथिका विद्यार्थीलाई पूर्ण आवासीय रूपमा अध्यापन गराउने लक्ष्य राखिएको भए  पनि साना बालबालिकालाई अनिवार्य नगरिएको विद्यालय प्रशासनले जनाएको छ।

छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको आवासीय विद्यालयका लागि आवश्यक सिरक, डसना, तन्ना र सिरानी गाउँपालिकाले उपलब्ध गराएको छ। आवासका लागि आवश्यक पर्ने फर्निचर, भान्साको सामग्री तथा रासन भने विद्यालय प्रशासन आफैँले व्यवस्था गर्छ। पूर्ण आवासीय अध्ययनका लागि भर्ना भएका छात्रछात्राका लागि एक–एकजना महिला तथा पुरुष शिक्षक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले जानकारी दिए। उनीहरूका लागि खान तथा बस्ने व्यवस्थासहित थप रु. तीन–तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ।

साधारण तरिकाले सञ्चालन हुँदै आएको सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउने अभियान सुरु गरेको छोटो समयमै नौ लाख १४ हजार रुपैयाँ सहयोग प्राप्त भएको आर्थिक संकलन समितिका संयोजक विशाल राईले बताए।

सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा कालिका आधारभूत विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्ष मात्रै २२ जना नयाँ विद्यार्थी थपिएका प्रधानाध्यापक टीकाराम राईले जानकारी दिए। ‘पछिल्लो समय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ। यसलाई रोक्नका लागि हामीले विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ। विद्यालयले सुरु गरेको अभियानमा सबैको साथ पाइएको छ।’

दलित, गरिब र अभिभावकविहीन छात्रछात्राका लागि १० वटा कोटा निर्धारण गरेर पूर्ण आवासीय रूपमा सुरुवात गरिएको भर्ना अभियानमा आठजना भर्ना भइसकेको विद्यालय प्रशासनले जनाएको छ। स्थापना भएको ४६ वर्षसम्म साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्ष निजी विद्यालयमा अध्ययन गर्दै आएका चारजना विद्यार्थीसमेत भर्ना भएका छन्।

सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै व्यावहारिक शिक्षा प्रदान गर्न प्रयासरत यस विद्यालयलाई इको हिमाल नामक गैरसरकारी संस्थाले समेत सहयोग गर्दै आएको छ। संस्थाले किशोरी आवास कार्यक्रमअन्तर्गत विद्यालयलाई एउटा भवन निर्माण गरिदिनुका साथै तरकारी खेतीका लागि प्लास्टिक टनेल निर्माण तथा प्राविधिक सहयोग उपलब्ध गराएको प्रधानाध्यापक राईले जानकारी दिए। विद्यालय प्रांगणभित्रै निर्माण गरिएको टनेलभित्र विद्यार्थीले अभ्यास शिक्षाका रूपमा गोलभेँडा, बन्दा तथा फूलगोभी, प्याज, काँक्रालगायतका तरकारी रोपेका छन्।