
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ मा पर्ने लामाखोला किनारमा रहेको बरपानी गाउँमा भएको अवैध उत्खननबारे नगरपालिकाले उत्खननमा अनियमितता भए कानुनबमोजिम कारबाही हुने बताएको छ।
गत बिहीबार नगरपालिकाका प्रवक्ता प्रकाश राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट स्थलगत निरीक्षण भई अनुसन्धान तहकिकातको काम भइरहेको हुँदा अनुसन्धानमा नगरपालिकाबाट सकारात्मक सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ। अनियमितता भएको पाइएमा संलग्न सबै पक्षलाई कानुनबमोजिम कारबाही हुने प्रतिबद्धतासमेत जाहेर गर्दै आमजनसमुदायमा भ्रमको पछि नलाग्न अपिल गर्दछौँ।’
आन्तरिक राजस्व वृद्धि गराई नागरिकको आवश्यकता र विकासको लागि स्रोत परिचालन हुने अभिप्रायले नगरपालिकाले जग्गाधनीहरूसँग समन्वय गरेर उक्त क्षेत्रको गिटी उत्खनन गरेको दाबी गरेको छ।
स्थानीयमाथि हातपात र धम्की दिएकोप्रति कांग्रेसकाे विरोध
कांग्रेस चौदण्डीगढी नगर कार्यसमितिले नम्बरी जग्गा हो भनी ऐलानी तथा सार्वजनिक जग्गाबाट ठेकेदारलाई जथाभावी उत्खनन गर्न दिएको र विरोध गर्ने स्थानीयलाई हातपात र धम्की दिएकोप्रति विरोध जनाएको छ।
लामा खोलाबाट नदीजन्य गिटी, बालुवा उत्खनन गर्दा घरमा खोलो पस्ने, कुलोमा पानी नचढ्ने समस्या हुने कांग्रेसको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘उत्खनन गर्न नम्बरी जग्गामा हो भनी ऐलानी जग्गा ठेक्का दिने चौदण्डीगढी नगरपालिका तथा ठेक्का लिने ठेकेदारलाई कानुनबमोजिम कारबाही होस् भनी सम्बन्धित निकायसँग अनुरोध गर्दछ।’ साथै, विज्ञप्तिमा जो कोहीले कांग्रेस पार्टीको नाम दुरुपयोग गरी नाजायज व्यक्तिगत आर्थिक फाइदा लिएको भए निजलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ।
अवैध उत्खननमा कांग्रेससहित माओवादीलगायतका दल संलग्न रहेको आरोप छ। माओवादी चौदण्डीगढी नगरपालिकाका अध्यक्ष दिनेश राईले अवैध उत्खननको आफू व्यवस्थापक रहेको यसअघि नै स्वीकार गरिसकेका छन्। तर, माओवादीका नगरपालिका अध्यक्ष राईले आफू व्यवस्थापक नभएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नगरभित्र भएको विभिन्न बेतिथि र विसंगतिविरुद्धमा हाम्रो पार्टी जोडदार संघर्ष गर्दै आएको स्मरण गराउँदै ढुंगा, गिटी उत्खनन तथा संकलनगरी बिक्री-वितरणको विवादित विषयमा सम्वन्धित निकायले छानबिन भइरहको छ। सो विषयमा कानुनविपरीत ठहरिएमा जोकोहीलाई कारबाही गर्न यसै विज्ञप्तिमार्फत माग गर्दछौँ।’
नगरपालिकामा मेयर, उपमेयर, बहुमत वडाध्यक्ष तथा कार्यपालिका सदस्य एमालेको रहेको छ। नगरपालिकाकै मेयर कालुमान लामाले नातामा भतिज पर्ने स्वकीय निरज घिसिङ (तामाङ) को फर्म सांगे छोयलिङ कन्सट्रक्सन प्रालिलाई ठेक्का दिएर उत्खनन गरेका थिए।
त्यसपछि अवैध उत्खनन र राजस्व छली भएको भन्दै चौदण्डीगढी नगरपालिका–७ का वडाध्यक्ष केशव अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएका थिए।
उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापजाँच गर्नुको साथै वन, ऐलानी, सार्वजनिक जग्गा र नम्बरी जग्गा यकिन गरेको थियो। उजुरीकर्ता अधिकारी भन्छन्, ‘नम्बरी भनिएको जग्गा पनि नक्कली फेला परेको थियो। आइइई (प्रारम्भिक वातावरणीय मूल्यांकन) एकातिर उत्खनन अर्कोतिर भएको पाइएको थियो।’
अधिकारीले भने, ‘नम्बरी भनेर नगरपालिकाले उत्खनन गर्न दिएको सात घरको जग्गामध्ये वेदबहादुर मगर, दिलबहादुर मगर, लालबहादुर कामीको जग्गा नम्बरी भएको र आइइई पनि गरेको देखियो। तर, उत्खनन खोलाको बाँध र वन क्षेत्रमा गरेको भेटियो। नम्बरी भनिएको जग्गा छविलाल राई, मैनाकला राई, गोविन्दबहादुर विष्ट, सरस्वती विष्टको जग्गा भेटिएन।’
माडिबास खोलानजिक रहेको धग्गाधनीको नाम नखुलेको १० कट्ठा जग्गामा आइइई गरेको, तर वन र खोलाक्षेत्रमा गएर उत्खनन गरेको पाइएको वडाध्यक्ष अधिकारीको दाबी छ। चौदण्डीगढी नगरपालिकाकै वडा नम्बर ५, ६ र ७ वडाको करमेजखोला, द्वारखोला क्षेत्रमा उत्खनन गरिएको क्षेत्रको पनि गोप्य रूपमा उजुरी परेको थियो। त्यसको पनि गत बुधबार अख्तियारको टोलीले नापजाँच गरेको थियो।