१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार

भक्तपुर अस्पतालः स्थापनाको १२० वर्षमा सिटिस्क्यान सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४७:oo

वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । 

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको उक्त अस्पतालमा बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक सिटी स्क्यान सञ्चालनमा आएको हो ।

उक्त स्क्यानबाट आइतबारदेखि बिरामीलाई औपचारिक रूपमा सेवा प्रवाह गर्ने अस्पताल प्रशासनले जनाएको छ । यसअघि सिटी स्क्यान मेसिन भक्तपुर अस्पतालमा जडान भएपछि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठले अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । सो क्रममा स्वास्थ्यमन्त्री थापाले भनेका थिए, ‘वीर अस्पतालपछिको दोस्रो अस्पताल भए पनि विगतमा राज्यले बेवास्ता गर्दा पछाडि परेको थियो । अस्पतालले विस्तारै विकासको गति लिएको छ । मन्त्रालयको बजेट र पहलमा सिटी स्क्यान सञ्चालनमा आएको छ । आगामी दिनमा अस्पताल आउने बिरामी र यहाँका जिल्लावासीले सिटी स्क्यान गर्न काठमाडौँ धाउनु पर्दैन ।’

अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याउन लागेको अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले बताए । 

भक्तपुर अस्पतालमा सञ्चालनमा राखिएको सिटी स्क्यानमा १० वर्षसम्म कुनै समस्या नआउने र समस्या आइहाले तत्काल कम्पनीले मर्मत गर्ने जनाइएको छ ।  

अस्पतालका कार्यकारी निर्देशक डा. भट्टले सिटी स्क्यान जडान गरी परीक्षण सम्पन्न गरिएको र आइतबार बिहान उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आउने उल्लेख गरे । उनले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने पनि बताए । रासस