
शुक्रबारको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आगामी सोमबार संसद्मा नीति कार्यक्रम पेस गर्ने निर्णयसमेत भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । ‘जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ,’ उनले भने ।
बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।