
वैशाख १८ र १९ मा सम्पन्न कोशी लगानी सम्मेलनमा ४६ वटा परियोजना निर्माणका लागि एक खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ लगानीका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेका व्यवसायीलाई सहजीकरण गर्न थालिएको छ ।
लगानी प्राधिकण, कोशीका कार्यकारी निर्देशक सरोज कोइरालाले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर)का लागि व्यवसायीसँग समन्वय हुन थालेको बताएका हुन् । एमओयू भएका सबै परियोजनामा लगानी भित्र्याउने गरी प्राधिकरणले काम गरिरहेको जनाएको छ ।
सम्मेलनमा पाँचतारे होटेल, रिसोर्ट, अस्पताल, पर्यटकीय ताल, विद्युतीय सवारी, क्लिंकर उत्पादन, केबुलकार, पोडवे, कोदोको रक्सी ब्रान्डिड, सौर्य ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न एमओयू भएको छ । स्थापित व्यावसायिक घरानादेखि नयाँ व्यवसायी र गैरआवासीय नेपालीको समूहले मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सोलुखुम्बु, झापा, ताप्लेजुङ, इलाम, खोटाङलगायतका जिल्लामा विभिन्न परियोजनामा लगानीका लागि प्रस्ताव गरेका छन् ।
३२ अर्ब लागतमा ‘उदयपुर क्लिंकर’ उद्योग खोल्ने प्रस्ताव, क्लिंकरको सहर बनाउने सरकारको योजना
लगानी सम्मेलनका क्रममा सबैभन्दा ठुलो लगानी प्रस्ताव उदयपुर जिल्लामा क्लिंकर उद्योग स्थापनाका लागि भएको छ । व्यवसायी सन्तोषमणि न्यौपानेले गैरआवासीय नेपालीसँगको साझेदारीमा ३२ अर्ब रुपैयाँ लगानी गरी उदयपुरमा क्लिंकर उत्पादनका लागि समझदारी भएको छ । न्यौपानेको अस्पताल तथा कलेजमा लगानी छ । लगानी सम्मेलनमा भएको समझदारीअनुसार उदयपुर क्लिंकर उद्योग सञ्चालनमा आएपछि दैनिक १० हजार टन क्लिंकर उत्पादन गर्नेछ । यो परियोजना सफल भएको खण्डमा प्रदेश सरकारको पहलमा अन्य क्लिंकर उद्योगसमेत थपेर उदयपुरलाई ‘क्लिंकर सिटी’ बनाउने सरकारी योजना छ । उदयपुरमा हाल सञ्चालित सरकारी स्वामित्वको सिमेन्ट उद्योग र सरकारी चुनढुंगा खानीलाई भने यो परियोजनाले कुनै असर गर्नेछैन ।
हाइड्रोजन युरिया मल उद्योगमा अर्ब लगानी
एमओयू भएको दोस्रो ठुलो परियोजना हो, २६ अर्ब लागतको ग्रिन हाइड्रोजन युरिया मल उद्योग । सुनसरी वा उदयपुरमा स्थापना गरिने उद्योगले पहिलो वर्ष नै दुई लाख टन रासायनिक मल उत्पादन गर्ने लक्ष्य राखेको छ । गालबकुमार ढुंगाना लगानीकर्ता रहेको यो परियोजनालाई काठमाडौं विश्वविद्यालयले पनि प्राविधिक सहयोग गर्ने भएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४, हात्तीमुढामा ढुंगानाले आठ मेगावाटको सोलार ऊर्जा उद्योग स्थापना गरेर विद्युत् प्राधिकरणलाई बिक्री गरिरहेको छ ।
वराहक्षेत्र र हलेसीमा केबुलकार, २६ अर्ब लगानी प्रस्ताव
मुक्तिनाथ केबुलकारका सञ्चालक अरुण सुवेदीले १६ अर्ब लगानीमा वराहक्षेत्र केबुलकार निर्माणका लागि रुचि देखाएका हुन् । यो केबुलकार वराहक्षेत्रदेखि धनकुटाको खोकुछिन्ताङसम्म निर्माण हुनेछ । त्यस्तै, हलेसीमा १० अर्ब लगानीमा केबुलकार निर्माण गर्न पुजन चौधरीले एमओयू गरेका छन् ।
पोडवेमा दुई समूह इच्छुक, विराटनगर र इलाममा बन्ने
पोडवे सेवा सञ्चालन गर्न दुई समूहले प्रस्ताव गरेका छन् । झापाका व्यवसायी वसन्त रिजालले इलामको माइपोखरीदेखि सन्दकपुर हुँदै ताप्लेजुङको फुङ्लिङसम्म ‘माउन्टेन पोडवे’ र विराटनगरको रानीदेखि १२ किमि टाढा उत्तरतर्फको बुढीगंगा गाउँपालिका– २, टंकीमा रहेको विराट टिचिङ अस्पतालसम्म पाँच अर्ब लगानी गरेर ‘कोशी पोडवे’ सञ्चालनका लागि व्यवसायी अस्कर डंगोलको प्रस्ताव छ ।
बेलायत बस्ने नेपालीले गरे कोदोको रक्सी ब्रान्डिङको प्रस्ताव
स्थानीय कोदोबाट उत्पादित रक्सीलाई ब्रान्डिङ गरी विदेशमा समेत निर्यात गर्ने उद्योग स्थापनाका लागि पनि एमओयू भएको छ । हाल बेलायत बस्दै आएका जनक राई र भरत लम्बूले एक अर्ब लागतमा धनकुटामा तिलिचो हिमाल उद्योग स्थापना गरेर वार्षिक १० लाख लिटर रक्सी उत्पादन गर्ने प्रस्ताव छ । यसरी उत्पादन भएको रक्सी विदेशमा समेत निर्यात गर्ने उनीहरूको योजना छ ।
१५ अर्बको बायो इथानोल परियोजना, पेट्रोलमा मिश्रण हुने
पेट्रोलमा मिश्रण गर्न मिल्ने बायो इथानोल केमिकल उत्पादनका लागि एमओयू भएको छ । अमेरिका बस्दै आएका गैरआवासीय नेपाली वेद खरेलको समूहले १५ अर्ब लगानी गरेर इथानोल उत्पादन गर्ने प्रस्ताव गरेका छन् । उनीहरूले झापामा व्यावसायिक रूपले सिमलतरुल खेती गर्ने र त्यसबाट उत्पादित इथानोल पेट्रोलमा मिश्रणका लागि सरकारलाई उपलब्ध गराउने जनाएका छन् । त्यस्तै, बाबुराम गौतम र देवप्रसाद खनालको समूहले पनि चार अर्ब लागतको बायो इथानल परियोजना अघि बढाउन एमओयू गरेका छन् । धनकुटा र उदयपुरमा परियोजना अघि बढाउने प्रस्ताव गरिएको छ ।
बाह्र महिना पर्यटक तान्न बर्जुतालमा एनआरएनको लगानी
सुनसरीको बर्जुताललाई पर्यटकीय नगरीका रूपमा विकास गर्न गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना राईको समूहले चार अर्ब २८ करोड लगानी गर्ने प्रस्ताव गरेको छ । बर्जुतालमा बर्सेनि मेला, महोत्सव भए पनि व्यवस्थित पूर्वाधारको अभावमा नियमित रूपले पर्यटक पुग्ने गरेका छैनन् ।
२.४८ अर्बमा विराटनगरमा सुविधासम्पन्न अस्पताल बन्ने
पूर्वमा सुविधासम्पन्न अस्पतालको संख्या थपिने भएको छ । विराटनगरका उद्योगी तथा उद्योग, वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतले मोरङको बुढीगंगा– १ मा दुई अर्ब ४८ करोड लगानी गरेर आरआर इन्टरनेसनल अस्पताल बनाउन लागेका हुन् । सो अस्पतालले जटिल रोगको पनि उपचार गर्नेछ ।
दुईवटा पाँचतारे र एउटा होटेल स्तरोन्नति
व्यवसायी प्रत्युश राउतले विराटनगर एयरपोर्ट मोडमा दुई अर्ब ३३ करोड लगानीमा पाँचतारे रोयलटाउन होटेल निर्माण गर्ने भएका छन् । त्यसैगरी, होटेल व्यवसायी पुण्य भट्टराईले एयरपोर्ट मोडमै रहेको एसियाटिक होटेललाई एक अर्ब ७५ करोड खर्चेर पाँचतारेमा स्तरोन्नति गर्ने भएका छन् । उद्यमी विजय चौधरीले पनि दुई अर्ब ३० करोड लगानीमा नयाँ पाँचतारे होटेल ल्याउने भएका छन् ।